काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा घोषणा गरेको दुई घन्टा नबित्दै पुबुदु दसानायके क्यानडाको प्रशिक्षक नियुक्त भएका छन् । उनलाई प्रशिक्षक नियुक्त गरेको जानकारी क्रिकेट क्यानडाले सामाजिक सञ्जालबाट दिएको छ । उनी दोस्रो पटक क्यानडको प्रशिक्षक नियक्त भएका हुन् । श्रीलंकाको राष्ट्रिय टिमबाट खेलेका पुबुदु अहिले क्यानडाका नागरिक हुन् । यसअघि पुबुदुले बुधबार दिउँस ३ बजे राजधानीमा आकस्मिक पत्रकार सम्मेलन गर्दै दिएका थिए । अघिल्लो वर्षको मंसिर २५ गते मात्र दोस्रो कार्यकालका लागि नेपालको प्रमुख प्रशिक्षक नियुक्त भएका दासानायकेले एक वर्ष नपुग्दै पद त्यागेका हुन् ।
टोलीको खराब नतिजाको कारण पछिल्लो समय दबाबमा रहेका उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन्। तर दुई घन्टा बित्न नपाउँदै उनी क्यानडाको प्रशिक्षक नियुक्त भएको सार्वजनिक भयो । यद्यपी उनले एक साताअघि आफूले राजीनामा दिएको बताएका छन् । ५२ वर्षीय पुबुदु यसअघि सन् २०११ मा नेपालको प्रशिक्षक नियुक्त भएका थिए । त्यतिबेला उनले श्रीलंकन प्रशिक्षक रोय डायसको स्थान लिएका थिए ।
सन् २०१५ मा क्यानसँग विवाद भएपछि नेपाली क्रिकेट टिमको प्रशिक्षकबाट राजीनामा दिएका उनले पपुवान्युगिनीविरूद्ध अन्तिम खेल खेलाएका थिए । यद्यपी उनी आइसिसीको अनुरोधमा २०१७ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपालको कन्सल्ट्यान्ट प्रशिक्षक बनेका थिए । त्यतिबेला उनले नामिबिया भएको सिरिज र एमसिसीविरुद्धको सिरिजमा नेपाली टिम सम्हालेका थिए ।
पुबुदुको नेतृत्वमा नेपालले डिभिजन ४ हुँदै डिभिजन २ सम्म खेलेको थियो । उनको प्रशिक्षणमा नेपालले सन् २०१४ को टी-२० विश्वकप खेलेको थियो । नेपाल छाडेपछि उनी सन् २०१६ मा अमेरिकाको प्रशिक्षक नियुक्त भएका थिए । उनले सन् २०१९ मा अमेरिकाको प्रशिक्षक पदबाट राजनीनामा दिएका थिए । उनी तीन वर्षअघि एभरेस्ट प्रिमियर लिग (इपिएल) टिम भैरहवा ग्लाडिएर्टसका प्रशिक्षक नियुक्त भएका थिए ।
सन् २०११ मा नेपालको प्रशिक्षक नियुक्त हुनुअघि पुबुदु क्यानडाका प्रशिक्षक थिए। उनको प्रशिक्षणमा क्यानडाले सन् २०११ को एकदिवसीय विश्वकप खेलेको थियो ।
श्रीलंकाका पूर्व राष्ट्रिय खेलाडी पुबुदु क्यानडाका नागरिक हुन् । पुबुदुले सन् १९९३ देखि १९९४ सम्म श्रीलंकाको राष्ट्रिय टिमबाट खेलेका थिए। ११ टेस्ट र १६ एकदिवसिय खेल खेलेका विकेटकिपर ब्याट्सम्यान पुबुबुले सन् २००५ देखि २००६ सम्म क्याडनाबाट समेत खेलेका थिए । मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि मुख्य प्रशिक्षक विहिन नेपाली टोली उनले सम्हाल्दै आएका थिए । ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजपछि ह्वाटमोरले राजीनामा दिएका थिए ।
प्रतिक्रिया