समाचार

बाढीपहिरोले सुदूरपश्चिमका ३ जिल्लामा मुख्य राजमार्ग अवरुद्ध


काठमाडौँ — अविरल वर्षापछि आएको बाढीपहिरो सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका चार ठाउँमा मुख्य राजमार्ग अवरुद्ध भएको छ ।

दार्चुला, बैतडी र बझाङमा पहिरोले मुख्य राजमार्ग अवरुद्ध भएपछि यातायात सेवा ठप्प भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दार्चुलाको शैल्यशिखर नगरपालिकाको नङतड, बैतडीको पाटन नगरपालिकाको थुम, सुनर्या गाउँपालिका–१ को भन्ज्याङ भन्ने ठाउँमा मुख्य राजमार्गमा माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

बझाङको छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा सेती नदीले कटान गरेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

दार्चुला र बैतडीका तीन ठाउँमा स्थानीय र प्रहरीले संयुक्त रुपमा पहिरो पछ्याएर सडक खुलाउने प्रयास जारी भएपनि बझाङको जालेबगरमा भने सेती नदीको बहाव बढेकाले त्यहाँ जान सकिने अवस्था नरहेको प्रहरीको भनाइ छ ।