काठमाडौँ — भारी वर्षाको कारण देशका केही भुभागको जनजीवन कष्टकर बन्दै गर्दा केही भूभागमा भने खडेरीका कारण रोपेको धान पनि सुक्ने अवस्था आएको छ । लुम्बिनी र मधेश प्रदेशका केही जिल्लामा लामो खडेरी पर्दा धान रोपाइँको काम नै प्रभावित बनेको हो । आकाशे पानी नपरेपछि मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लामारोपेको धान सुक्न थालेको छ । साउनको पहिलो हप्ता सकिन लाग्दा पनि वर्षा नभएपछि बाँके जानकीका किसानहरु ढलको पानी सिंचाई गरेर धान रोप्न बाध्य भएका छन् ।
बाँके जिल्लाको कुल क्षेत्रफलको ३६ हजार ५ सय हेक्टरमा धान खेती गरिन्छ तर यो वर्ष समयमा पानी नपर्दा असारको अन्तिमसम्म ४० प्रतिशत मात्र धान रोपाईं भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । किसानहरुले यो वर्ष मलखाद नपाएको गुनासो गरिरहेका बेला आकाशे पानी नपरेपछि रोपेको केही धानपनि सुक्न थालेको छ । धान रोपेको गह्रा पनि फाटेर चिरा पर्न थालिसकेका छन् ।
गत बर्ष यही समयमा झन्डै ९० प्रतिशत धान रोपाईं भएको बाँके जिल्लामा यस वर्षको असार महिनाको अन्त्यसम्म आईपुग्दा पनि पानी नपरेका कारण बाँकेका आठ वटै पालिकामा ४० प्रतिशत मात्र धान रोपाईं भएको कृषि ज्ञान केन्द्र बाँकेका कृषि अधिकृत दिनेशप्रसाद भट्टराई बताउनु भयो । जानकी ३ बाँकेका किसान बिर्जा प्रसादजरवटले रोपेको धान पनि पानी नपरेका कारण खेतमा सुक्दै गएको बताए । उनले समयमा मलखाद पनि नपाएको गुणासो सुनाउँदै सरकारले सिंचाईको कनैुपनि प्रवन्ध मिलाउन नसकेको बताए ।
आफ्नो गाउँघरमा पानीका लागि कुनै सुविधा नभएकाले पम्पिङसेटबाट नालाको पानीले सिंचाई गरी रोपेको धानपनि सुक्न थालेको र जमिन पनि फुट्न थालेको जानकी ३ बाँकेका किसान दीलिपकुमार जरवटले बताउछन् । उनले नेताहरु भोट माग्नेबेला किसानलाई आश्वासन दिने गरेपनि जितिसकेपछि फर्केर नहेर्ने गरेको गुनासो गरे ।
पानी नपरेर सुख्खा लागेकाले धान रोपार्इं हुन नसकेको भन्दै सिंचाईको सुविधा गरिदिन जानकी ३ बाँकेका किसानहरुले आग्रह गरेका छन् । राप्ती नदी, खोलानाला र सिक्टा सिंचाईको सुविधा हुने राप्तीसोनारी, बैजनाथ, खजुरा, जानकी, डुडुवा गाउँपालिकामा २५ देखि ४० प्रतिशत धान रोपार्इं भएको छ भने नरैनापुर गाउँपालिकामा १० प्रतिशत, कोहलपुर नगरपालिका क्षेत्रमा १५ र नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा २० प्रतिशत मात्र धान रोपाईं भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।


प्रतिक्रिया