Breaking

बाबुरामजीले यो गठबन्धन कुनै हालतमा छोड्दिनँ भन्नु भएको छ: प्रचण्ड


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनको सम्बन्धमा बिहीबारसम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिएका छन् । मंगलबार पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग सिंहदरबारमा भेटवार्तापछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले गठबन्धनको बिषयमा बिहीबारसम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिएका हुन् ।

भट्टराईसँग सामान्य राजनीतिक भेटघाट भएको र गठबन्धन बनाउने विषयमा छलफल भएको दाहालले बताए । गठबन्धन बनाउने सन्दर्भमा अरु पार्टीसँग पनि कुरा गर्ने सहमति भएको पनि उनले जानकारी दिए । आजको सामान्य राजनीतिक भेटघाट हो, अरु त्यस्तो केही छैन । गठबन्धन बनाउने विषयमा छलफल चलिराखेको छ । गठबन्धन बनाउने बारे अरु पार्टी सँग पनि कुरा गरौँ । पर्सिसम्म एउटा टुंगोमा पुग्न सकियो भने राम्रो हुन्छ भन्ने कुरा भयो,’ दाहालले भने ।

अध्यक्ष दाहालले आगामी निर्वाचनमा गठबन्धन गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय सही भएको बताए । ‘कांग्रेसले सही निर्णय गरेको छ । हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने छ । यो गठबन्धनमा यता उता गर्ने भन्ने हाम्रो कहीँ कतै छैन । बाबुरामजी पनि गठबन्धनमै हुनुहुन्छ नि । यो गठबन्धन कुनै हालतमा छोड्दिनँ भन्ने छ बाबुरामजीको ।’

अध्यक्ष दाहालले बाबुराम भट्टराईलाई जनता समाजवादी पार्टी, नेपालले कारबाही गरे पनि गठबन्धनमै रहेको स्पष्ट पारे । भेटवार्तामा भट्टराईले गठबन्धन कुनै हालतमा नछोड्ने प्रतिवद्धता गरेको पनि अध्यक्ष दाहालले बताए ।