Breaking

जनप्रतिनिधिलाई घोक्य्राएर पोखरीमा चोबल्नु लोकतन्त्र हो ? सांसद भट्टराई


काठमाडौँ — नेकपा एमालेका सांसद खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा बैठकको घटनाको सम्बन्धमा गृहमन्त्रीको जवाफ मागेका छन् । सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले तिलोत्तमा नगरपालिकाको नगरसभामा नेपाल प्रहरी प्रवेश गरी जनप्रतिनिधिलाई धेकेलेर पोखरीमा चोबलेको भन्दै आपत्ति जनाएका हुन् ।

सांसद भट्टराईले प्रहरीको शासन चलाउन खोजेको हो भनेर गृहमन्त्रीलाई प्रश्न समेत गरे । उनले गृहमन्त्रीले आफ्नो भाइ मेयर भएको सो नगरपालिकामा प्रहरीको ज्यादती गराएको आरोपसमेत लगाए । वडा ध्यक्षलाई पोखरीमा चोबल्ने डीएसपीलाई कारबाही गर्न पनि उनको माग छ । जनप्रतिनिधिलाई सार्वजनिक स्थानमा अपमान गरेर र प्रहरी शासन लगाएर लोकतन्त्र बलियो नहुने उनले बताए । सो घटनाको सम्बन्धमा गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिनुपर्ने सांसद भट्टराईको माग छ ।

‘तिलोत्तमा नगरपालिकामा हिजो जुन घटना घट्यो, त्यहाँभित्रको अरु विषयवस्तुमा म जान्नँ । तर आज देशमा यो लोकतन्त्र हो कि प्रहरीको सेक्युरिटीको शासन चलाउन खोजेको हो देशमा । म नामै लिन चाहन्छु, डीएसपी ठगबहादुर केसीले त्यहाँको वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई घोक्य्राएर पोखरीमा चोबलेका छन् । यही हो लोकतन्त्र यसले लोकतन्त्रलाई स्थापित गर्छ यसले गणतन्त्रलाई स्थापित गर्छ यस्तै व्यवहारले डिबेटहरु हुनसक्छ, लोकतन्त्रमा । लोकतन्त्रको सुन्दरता भनेकै बहसबाट निस्कर्षमा पुग्ने पद्दति हो, उनले भने ।