समाचार

गायिका दिलमायाको हत्या भएको प्रहरीको निष्कर्ष


काठमाडौँ — लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ । गत असार ११ गते बिहान आफ्नै कोठामा उनको शव फेला परेको थियो ।

उनीसँगै बस्दै आएका सिन्धुपाल्चोकको साँगाचोकगडीका सूर्य भन्ने खिलबहादुर श्रेष्ठले दिलमायाको हत्या गरेको प्रहरीको निष्कर्ष छ । श्रेष्ठलाई घटना भएको भोलिपल्ट प्रहरीले पक्राउ गरेको थियो । श्रेष्ठविरुद्ध दिलमायाका परिवारले किटानी जाहेरी समेत दिएका थिए ।

प्रहरीले सोमबार वा मंगलबार अनुसन्धान प्रतिवेदन बुझाउने बालाजु वृत्तका डीएसपी गौतम मिश्रले बताए । प्रहरीले सूर्यलाई कर्तव्य ज्यान सम्बन्धि कसुरमा सजाय माग गर्दै प्रतिवेदन बुझाउने तयारी गरेको छ । घटना भएको रात पनि सूर्य दिलमायासँगै थिए । दिलमाया झुण्डिएको भनिएको सल सूर्यले महाराजगन्जस्थित झाडिमा लगेर फालेका थिए ।
दिलमायाको मोवाइल अझै फेला परेको छैन ।

लोकगायिका दिलमायाका पिताले दिए श्रेष्ठविरुद्ध कर्तव्य ज्यानमा किटानी जाहेरी दिलमायाको शंकास्पद मृत्यु पहिले उनको फेसबुक प्रोफाइलमा लामो स्टाटस लेखिएको छ । स्टाटस लेख्न प्रयोग गरिएको मोवाइल भने फेलापरेको छैन । घटनास्थलमा सूर्य बाहेक अरु नहुनुले पनि सूर्यले हत्या गरेको र स्टाटस पनि उनैले लेखेको प्रहरीको निस्कर्ष छ । परीक्षण रिपोर्ट भने प्राप्त भइनसकेको अनुसन्धानमा संलग्न अधिकारीले बताए ।

दिलमायाको पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण ह्याङ्गिङ उल्लेख छ । घाँटीमा निलडाम पनि देखिएको थियो । शरीरका अन्य भागमा चोट थिएन । प्रहरी अनुसन्धानको निष्कर्ष भने सूर्यले झुण्ड्याएर हत्या गरेको तर्फ देखिएको हो ।