Breaking

भारतमा नयाँ राष्ट्रपतिका लागि आज चुनाव


काठमाडौँ — भारतमा आज राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ । भारतका वर्तमान राष्ट्रपति रामनाथ कोभिन्दको कार्यकाल यही जुलाई २४ मा सकिने भएकाले नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो ।

निर्वाचनका लागि भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले आदिवासी नेता द्रौपदी मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । ​ ​ मुर्मु झारखण्डको पूर्वराज्यपालसमेत हुन् । चुनाव जितेमा उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बन्ने छिन् । आदिवासी नेता मुर्मुको प्रतिस्पर्धा विपक्षीको तर्फबाट उम्मेदवार बनेका यशवंत सिन्हासँग हुने छ ।

यस्तै उपराष्ट्रपतिका लागि विपक्षी कांग्रेसले मार्गरेट अल्वालाई उपराष्ट्रपति पदको उम्मेदवार बनाएको छ भने सत्तारुढ भाजपाले जगदीप धनखडलाई उम्मेदवार बनाएको छ ।

राष्ट्रपति चयनका लागि एक सांसदको मतभार सात सय हुने संवैधानिक व्यवस्था रहेको छ । मतदाता अन्तर्गत पर्ने व्यक्ति निलम्बित भएको वा कारागारमा छ भने उनीहरूलाई प्रक्रिया पुरा गरेर मतदान गर्न पाइने व्यवस्था छ ।

राष्ट्रपति निर्वाचनका लागि चार हजार ८०९ ‘इलेक्ट्रोरल’ मत रहेको र उनीहरूलाई कुनै राजनीतिक दलले ‘ह्विप’ जारी गर्न नसक्ने पनि त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

चुनावमा के के हुन्छ

२९ जुलाईमा नामांकन, १८ जुलाईमा मतदान र २१ जुलाईमा नतिजा

राष्ट्रपति चुनावमा कुल मतभार १०,८०,१३१ । यसमा ५,४०,०६५ भन्दा धेरै ल्याउने विजयी हुने ।

७३७ सांसद (लोकसभा, ५४०, २२७ राज्यसभा), चार हजार ३३ विधायकले राष्ट्रपतिलाई भोट हाल्न पाउने। हर सांसदको मतभार ७०० अर्थात् ३,१३,६०० ।

विधायकको भोट भने राज्यको जनसंख्या र विधायकको संख्या अनुसार तय हुने, युपीमा एक विधायकको मतभार २०८ र सिक्किममा ७ मात्रै ।

जम्मा ४०३३ विधायकको मतभार ५ लाख ४३ हजार २३१ । कुल मतभार १० लाख ८० हजार १३१ हुन् आउँछ, त्यसको ५० प्रतिशत अर्थात् ५ लाख ४० हजार ६५ ल्याउने उम्मेदवार विजयी हुने ।