Breaking

काँग्रेसको पदाधिकारी बैठकले एक दर्जन भातृ तथा सुभेच्छुक संस्था थप्ने निर्णय


काठमाडौँ — प्रवक्ता प्रकाशशरण महतका अनुसार करिब एक दर्जन संख्यामा भातृ÷शुभेच्छुक संस्था थप्ने प्रस्ताव केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय बैठकले गरेको हो । संस्थामा विभिन्न क्लस्टर, जात र भूगोल विशेषबाट आबद्धता खोजिएको उहाँले जानकारी दिनुभयो । पार्टीको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्दै छ । भातृ तथा शुभेच्छुक संस्था बन्न चाहेकाहरूको विधानमाथि छलफल भएको र भोलि उक्त प्रस्ताव केन्द्रीय समितिमा राखिने तथा केन्द्रीय समितिको निर्णयबाट मान्यता दिइने पार्टीको तयारी छ । सत्तारुढ नेपाली काँगेसको शेखर कोइराला पक्षले केन्द्रिय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भिर समिक्षा गर्ने एजेन्डा तय गरेको छ ।

काठमाडौंको विशालनगरमा बसेको नेता कोइराला पक्षको बैठकले पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले सरकारको काम कारबाहीबारे केन्द्रिय समिति बैठक गम्भिर समिक्षा गर्नुपर्ने निर्णय गरेको नेता चन्द्र भण्डारीले जानकारी दिनु भयो । कोइराला पक्षले सरकारले ल्याएको बजेटबारे पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ । त्यसैगरी पार्टी सभापति समेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई विधिवत रुपमा अघि बढाउन नसकेको भन्दै कोइराला पक्षको आक्रोश छ । स्थानीय तह निर्वाचनको समेत समिक्षा गरी आगामी प्रदेश सभा र संघीय संसदको निर्वाचनमा पार्टीलाई अझ फाईदा हुने गरी गठबन्धनलाई वृहत्त बनाउने विषयमा केन्द्रीय कमिटी बैठकमा छलफल गर्नुपर्ने नेता भण्डारीले बताउनु भयो ।

बैठकमा कोइराला पक्षले पार्टीको भातृ संस्थाहरु सबैको पुनर्गठन गर्न र विभागहरुलाई समयमै पूर्णता दिन पनि पार्टी सभापति देउवालाई दवाव दिने निर्णय गरेको छ । बैठकका पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता डा. रामशरण महतलगायतको सहभागिता रहेको थियो । काँग्रेस केन्द्रिय समितिको बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा बोलाइएको छ ।