Breaking

बकर ईदको रौनक देशैभर,सद्भाव र एकढिक्का भएर बाँच्न पे्ररित गर्ने


काठमाडौँ — मुस्लिम समुदायको विशेष पर्व बकर ईद आजबाट सुरु भएको छ । तीन दिनसम्म चल्ने यो पर्वले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न ठूलो भूमिका खेल्ने गरेको छ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद आइतबार देशभर हर्षोल्लासपूर्वक मनाइएको छ । आजदेखि तीन दिनसम्म मनाइने बकर ईदको अवसरमा नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको निकै भीड देखिन्थ्यो ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ । हिजरी संवत् अनुसार १४३६ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । त्यसै अनुसार आजको दिन मुस्लिम धर्मावलम्बीहरुले आफुलाई जायज लागेका अर्थात् सानै देखि पालेको जनावारलाई बलि दिने गरिन्छ ।

यसरी कुर्बानीको मांस उनीहरु एक्लै वा आफ्नो परिवारले मात्रै खादैँनन् । त्यसलाई तीन भागमा बाँडी वितरण गर्छन् । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । यस्ता पर्वले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम राख्न विशेष योगदान दिन्छ । अझ नेपाल जस्तो बहु जातजाती भाषभाषी बसोबास भएको ठाउँमा त यसको महत्व अनिवार्य नै हुन्छ । नेपालको सबैभन्दा महत्व र सुन्दर पक्ष नै यही हो कि कुनै पनि समुदायको पर्व होस् मिलेर नै मनाउने गर्छन् । त्यसै अनुसार बकर ईदको अबसरमा अन्य समुदायबाट पनि शुभकामना आइरहेको छ ।

ईद उल अजहा मुश्लिम समुदायका एक महत्वपूर्ण उत्सव हो । मुस्लिम समुदायमा ईदे अजहाका साथै अर्को दुई इद पनि छन्, ईदुलफित्र वा रमजान ईद र अर्को मिलादुन्नबी । यी तीनै ईद भाइचारा, त्याग, समर्पण र मानवीय मूल्यमा आधारित छ । यी सबै ईदले आपसमा सद्भाव र प्रेम कायम राख्दै एकढिक्का भएर बाँच्न प्रेरित गर्छ ।अधिकांश मुस्लिम समुदायलाई साउदी अरबमा अवस्थित मक्कामा हज तिर्थयात्रा जानु अनिवार्य मानिन्छ । मुस्लिमहरुको पवित्र भूमि मक्कामा हज यात्राका लागि एउटा निश्चित दिन तय गरिन्छ । आजबाट मक्कामा जाने हज यात्राको औपचारिक समापन पनि हुने गर्दछ ।