जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा भारतले राष्ट्रिय शोक मनाउने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार दिउँसो ट्विट गर्दै आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाइने बताएका छन् । आबेको निधनमा उनले गहिरो दुस्ख व्यक्त गरेका छन् । आफू गुजरातको मुख्यमन्त्री हुँदादेखि नै आबे साथी भएको उल्लेख गर्दै मोदीले आबेको निधनले मर्माहत भएको बताएका छन् ।
शुक्रबार बिहान आक्रमणमा परेका आबेको दिउँसो उपचारका क्रममा निधन भएको थियो । ६७ वर्षीय आबेमाथि शुक्रबार बिहान पश्चिम जापानको नारा सहरमा चुनावी अभियानका क्रममा गोली प्रहार भएको थियो । उनी आइतबार हुने माथिल्लो सदनको चुनावी प्रचारको एउटा कार्यक्रममा सम्बोधन गरिरहेका थिए ।
गोलीको आवाज आएपछि आबे आफ्नो छातीमा समाउँदै ढलेका थिए। उनको सर्टमा रगत देखिएको थियो । त्यसपछि बेहोस भएका उनलाई अस्पताल लगिएको थियो । प्रहरीले आबेलाई गोली हान्ने ४१ वर्षीय शंकास्पद पुरूषलाई तत्काल पक्राउ गरेको थियो। ती पुरूषले सटगनबाट आबेलाई गोली हानेको देखिएको छ। उनले गोली हान्नुको कारण भने खुलेको छैन ।
जापान संसारकै सुरक्षित मुलुकमध्ये मानिन्थ्यो। त्यहाँ बन्दुक बोक्न पाउने कानुन पनि निकै कडा छ । लामो समयसम्म प्रधानमन्त्री भएका र अहिलेको सत्तारूढ दलमा पनि बलियो प्रभाव भएका आबेमाथि गोली प्रहार भएको घटनाले संसारको ध्यानाकर्षण भएको छ । एजेन्सी


प्रतिक्रिया