काठमाडौँ – सरकारले संसदबाट आज नागरिकता विधेयक फिर्ता लिने तयारी गरेको छ ।
गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो । सोही अनुसार आज दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
हिजो पनि संभावित कार्यसूचीमा रहेको विधेयक फिर्ता लिने विषय अन्तिममा कार्यसूचीबाट हटाइएको थियो । २०७५ सालमा संसदमा पेश भएको विधेयक चार वर्षपछि सरकारले फिर्ता लिन लागेको हो । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रतिवेदन बुझाइसके पनि दलहरुबीच केही प्रावधानमा सहमती नजुटेपछि विधेयक फिर्ता लिएर अर्को विधेयक ल्याउने सरकारको तयारी छ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची छ ।
त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकुन्द न्यौपानेले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने संसद सचिवालयले जनाएको छ ।


प्रतिक्रिया