काठमाडौँ — दुई दिन देखि स्थगित माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज पुन बसेको छ । पूर्ववत कार्यतालिका अनुसार नै आजको वैठकमा प्रदेश र गैरभौगलिक क्षेत्रवाट रिर्पोटिङ तथा केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएका छन । जवाफ दिएसंगै प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन पनि सर्वसम्मतिले पारित भएको छ ।
काठमाडाँैस्थित प्रज्ञा भवनमा जारी माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेकोे छ ।यसअघि बैठकको पहिलो दिन प्रदेश अध्यक्ष र दोस्रो दिन केन्द्रीय सदस्यले अध्यक्षको प्रतिवेदनमाथि प्रश्न उठाएका थिए । ती प्रश्नहरुको जवाफ पनि प्रचण्डले दिएका छन ।
प्रश्नबाट बहिकिदै सन्दर्भबाट बाहिरिएका उनले जनार्दन शर्माको बचाउ गरेका छन् ।अर्थमन्त्रीका रुपमा नेता शर्माले कुनै गलत काम नगरेको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले बजेटमा समावेश भएका कतिपय प्रगतिशील विषय केही मानिसलाई मन नपरेको उल्लेख गरे। नेपाली राजनीतिमा नैतिकताको संस्कार र त्याग पनि हुन्छ भन्ने विषयको सञ्चारसमेत भएको बताएका उनले सत्ता गठबन्धनलाई अप्ठ्यारोमा पार्ने डिजाइन अन्तर्गत जनार्दन शर्मा मन्त्री हुँदा अनावश्यक विवाद उचालिएको टिप्पणी गरे । तर पदबाट राजीनामा दिएर शर्माले षडयन्त्र गर्नेहरुलाई जवाफ दिएको प्रचण्डको दावी थियो ।
जवाफ दिने क्रममा ‘प्रचण्ड’ ले पार्टीले हालैको स्थानीय चुनावमा धेरै स्थानमा अन्तर्घातका कारण हार व्यहोर्नुपरेको बताएका थिए । अन्तर्घातको छानबिनका लागि एउटा समिति बनाउने र प्रतिवेदनका आधारमा अन्तर्घातमा संलग्नलाई कारबाही गर्ने प्रस्ताव समेत उनले अघि सारे ।खासगरि मधेसमा पार्टीको निराशाजनक नतिजा आएको बताएका उनले स्थानीय चुनावमा१७० वटा पालिका जित्नुपर्नेमा त्यसो हुन नसकेको बताए ।
धेरै सिनियर नेताहरुलाई पनि अन्तरघातको आरोप लागेको प्रचण्डले बताए । जनयुद्ध लडेका र नडलेकाबीचको विवादले पार्टी नबन्ने बताएका उनले घुमाउरो पारामा नारायणकाजीलाई पनि जवाफ दिए । माओवादी शान्ति प्रक्रियामा आएपछि एकता प्रक्रियामा आएका नारायणकाजी समूहका कार्यकर्ताले आफूहरूमाथि अहिले पनि विभेद गरिएको गुुनासो गर्दै आएकोमा प्रचण्डले सबैलाई क्षमता अनुसारको जिम्मेवारी दिइने बताए । साथैउनले जनयुद्ध लडेकामा अहंकार र नलडेकाहरूले आफूलाई वैचारिक भनेर दाबी गर्नु गतल भएको बताए । आन्तरिक एकता बलियो भएमा माओवादी देशकै ठुलो क्रान्तिकारी पार्टी बन्ने समेत प्रचण्डले बताएका थिए ।
जवाफ दिने क्रममा प्रचण्डले विशेष महाधिवेशनको प्रस्ताव समेत गरेका छन्।महाधिवेशन सम्पन्न भएको ६ महिना नबित्दै तथा पदाधिकारी समेत छान्न नसकेको अहिलेको अवस्थामा उनले ‘समाजवादी क्रान्ति’का लागि विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।‘प्रचण्ड’ ले एमसीसीका विषयमा भने प्रदेश र संघको चुनावपछि मात्रै छलफल हुने बताएका छन् ।
एमसीसी १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित संसदबाट हुने क्रममा नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ लगायतका नेताहरुले प्रश्न उठाएका थिए । पार्टीको निर्णय सबैले मान्नुपर्ने भन्दै प्रचण्डले असहमतिलाई बैठकमा दर्ज गर्दै केन्द्रीय समिति बैठकमा छलफल हुने बताएका थिए । तर बिहीबारको बैठकमा जवाफ दिँदै प्रचण्डले चुनाव गर्ने समय नजिकिँदै आएकाले चुनावपछि मात्रै छलफल गर्नुपर्ने बताए ।जवाफ दिने क्रममै प्रचण्डले माओवादीको पहिचानमा समस्या परेको भन्दै अलग देखिनका लागि समाजवादी क्रान्तिको नेतृत्व माओवादीले गर्नुपर्ने तर्क समेत गरेका छन ।
राष्ट्रिय राजनीतिमा देउवाको सारथी बनेका प्रचण्डले जवाफ दिदाँ भने उहि पुरानै क्रान्तीकारी शैलीमा नेता तथा कार्यकर्तालाई आश्वस्त पार्ने काम गरेका छन । तर उनका यी जवाफहरु र कार्यशैली आफैमा विरोधाभाषपूर्ण छ । फलत प्रचण्डका जवाफ माओवादीकै नेताहरुमाथि कार्यकर्ताले गर्ने प्रश्नको आधार बन्ने प्रष्ट छ ।


प्रतिक्रिया