काठमाडौँ – खराब ब्याटिङ प्रदर्शन गरेको नेपाल बुधबार राति क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा ८३ रनले पराजित भएको छ ।
किङ सिटी क्रिकेट मैदानमा बुधबार राति टस हारेर ब्याटिङका लागि निम्त्याइएको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १८८ रन बनाएको थियो । १८९ रनको लक्ष्य पछ्याएको नेपालले ३९.२ ओभरमा सबै विकेट गुमाएर १०५ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि देव खनालले सबैभन्दा धेरै २६ रन बनाए । ओपनर पवन सर्राफले १४ रन बनाउँदा विकेटकिपर विनोद भण्डारी, बसिर अहमद र आदील आलमले समान १३ रन बनाए । अर्का ओपनर कुशल भुर्तेल एक रनमा आउट हुँदा उपकप्तान रोहितकुमार पौडेल ६ रन बनाएर पवेलियन फर्किए । दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले रनको खाता खोल्न सकेनन् ।
कप्तान सन्दीप लामिछाने ११ रनमा आउट हुँदा करण केसी ५ रनमा अविजित रहे । क्यानडाका अमर खालिद, सलमान नजर, रोमेल साहजाद, साद जफर र हर्ष थाकरले समान दुई विकेट लिए ।
त्यसअघि श्रेयस मोब्बा र अमर खालिदले दशौं विकेटका लागि ७० रनको साझेदारी गरेपछि क्यानडाले ९ विकेट गुमाएर १८८ रनको योगफल जोड्न सफल भएको थियो । श्रेयस मोब्बा ५० र खालिद ३० रनमा अविजित रहे । त्यसअघि आरोन जोनसनले ५५ बलमा ४४ रन बनाएका थिए । उदयवीर सिंहले १६ र अखिल कुमारले १२ रन जोडे ।
नेपालका कप्तान सन्दीपले ३ विकेट लिए । दीपेन्द्रसिंहले २ विकेट लिँदा बसिर अहमद, किशोर महतो, करण केसी र आदील आलमको नाममा १र१ विकेट रह्यो ।
नेपाल दुई खेलको एकदिवसीय शृंखला खेल्न क्यानडा गएको थियो । पहिलो एकदिवसीय भने वर्षाका कारण रद्द भएको थियो । त्यसअघि नेपालले त्यहाँको स्थानीय टिमसँग एकदिवसीय र ट्वान्टी-२० अभ्यास खेल खेलेको थियो ।
अब नेपाल त्यतैबाट आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्नका लागि स्कटल्यान्ड जानेछ । जहाँ नेपालले स्कटल्यान्ड र नामिबियाविरुद्ध त्रिदेशीय शृंखला खेल्नेछ । त्यसकै तयारीका लागि नेपाल क्यानडा गएको हो ।
प्रतिक्रिया