समाचार

महाकालीमा बेपत्ता सचिनको खोजी कार्य तीब्र बनाउन गृहमन्त्रीको निर्देशन


काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले तुइन चुँडिएर महाकालीमा बेपत्ता युवकको खोजी कार्य तीब्र बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

बुधबार दार्चुला जिल्लाको ब्यास गाउँपालिका–२ मा तुइनबाट भारत तर्फबाट नेपालतर्फ आउँदै गर्दा १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका हुन् ।

गृहमन्त्री खाँणले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरीका नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराई, नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख नायब महानिरीक्षक मोहन आचार्यलाई टेलिफोन गरी वेपत्ता बुढाथोकीको खोजी कार्य तिव्र बनाउन निर्देशन दिएका हुन् ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक भट्टराईले खोजी कार्य तीब्र बनाउन गृहमन्त्रीले निर्देशन दिएको तथा सशस्त्र र नेपाल प्रहरी मिलेर रातिसम्म खोज्दा पनि फेला पार्न नसकेको बताए । बिहीबार थप फौज पठाएर खोजी कार्य तीब्र बनाइने उनले बताए ।

बुढाथोकी दिउँसो साढे तीन बजे गह्रौं भारीसहित दुम्लिङ नजिक भारतबाट नेपालतर्फ आउँदै गर्दा तुइन चुँडिएर वेपत्ता भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।