Breaking

दलाइ लामाको ८७ औँ जन्मोत्सव मनाईँदै


काठमाडौँ — वुद्ध धर्मका धर्मगुरु दलाइ लामाको बुद्धिस्ट समुदायले आज बुधाबार जन्मोत्सव मनाइरहेका छन् । १४ औँ दलाई लामा, तेन्जिन ग्यात्सो बुधाबार ८७ वर्ष लागेका छन् । सन् १९३५ को जुलाई ६ मा जन्मिएका उनी सन् १९५९ मा भारत निर्वासित भएका थिए ।

दलाई लामालाई बुद्धिस्ट समुदायले जन्मोत्सवको शुभकामना दिँदै स्वस्थ दीर्घ जीवनको कामना गरेका छन् ।

दलाई लामा आफ्ना अनुयायीहरुसहित भारतको धर्मशालामा बस्दै आएका छन् । त्यहाँ तिब्बतको निर्वाशित सरकार छ । सो सरकारलाई गएको वर्ष अमेरिकाले औपचारिक मान्यता प्रदान गरेको थियो ।

वर्तमान दलाई लामाको उमेर बढ्दै जाँदा र बेला बेलामा देखिने स्वास्थ्य समस्याका कारण भावी दलाई लामालाई लिएर चासो चिन्ता व्यक्त हुँदै आएको छ । आफ्नो उत्तराधिकारीका बारेमा दलाई लामाले विभिन्न समयमा बोल्ने गरेका छन् । तर चीनले भावी दलाई लामाको चयनले आफ्नो स्वीकृतिपछि मात्रै औपचारिकता पाउने बताउँदै आएको छ ।

चीनले हालै गरेको तिब्बत सम्बन्धी आधिकारिक श्वेत पत्रमा दलाई लामा तथा बुद्धका अरु जीवित स्वरुपहरुको मनोनयन वा चयन क्वीङ्ग राजवंश ९१६४४-१९११० देखि नै चीनको केन्द्र सरकारको प्रमाणिकरण हुनु पर्ने व्यवस्था रहेको उल्लेख छ । प्राचीन कालदेखि नै तिब्बत चीनको अविभाजित हिस्सा रहेको उल्लेख पनि श्वेत पत्रमा गरिएको छ।

‘तिब्बत सिन्स १९५१ः लिबरेशन, डेभलप्मेन्ट एण्ड प्रोस्पेरिटी’ नामक श्वेत पत्रमा सन् १७९३ देखि नै केन्द्र सरकारको अधिनमा तिब्बत रहने व्यवस्था क्वीङ्ग सत्ताले गरेको दाबी छ ।

दलाई लामा तथा बुद्धका अरु जीवित स्वरुपहरुका लागि मनोनितहरुको अन्तिम प्रमाणिकरण चीन केन्द्र सरकारबाट हुनु पर्ने व्यवस्था रहेको सो श्वेत पत्रमा उल्लेख छ ।