Breaking

काठमाडौँमा आज दिनभर वर्षाको सम्भावना


काठमाडौँ — आज बिहान देशभर सामान्य बदली रहेको छ । प्रदेश- १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

काठमाडौँमा आज दिनभर मौसम बदली हुनेछ । “काठमाडौँका केही स्थानमा अहिले पनि वर्षा भइरहेको छ । दिउँसो पनि केही समय वर्षा हुने र केही समय पानी पर्ने क्रम चलिरहने छ,” मौसमविद् राजु प्रधानाङ्ले भने, “काठमाडौँमा आज सामान्यदेखि मध्यम वर्षा हुने देखिन्छ ।”

प्रधानाङ्का अनुसार आगामी तीनदिन देशभर सामान्यदेखि मध्यम वर्षा भए पनि ठूलो भारी वर्षाको सम्भावना छैन । “आगामी तीनदिन ठूलो भारी वर्षा गराउने मौसमी प्रणाली देखिँदैन,” उनले भने ।

आज राति गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि पानी पर्ने विभागले जनाएको छ ।

पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।