काठमाडौँ — संखुवासभाको मादी नगरपालिकामा ६ जनाको हत्या गरेको घटनामा ४ प्रतिवादीहरूलाई आजीवन कैदको सजाय सुनाइएको छ । सोमबार जिल्ला अदालत चैनपुर संखुवासभाले चार जनालाई आजीवन कैद सजाय सुनाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ । ४७ वर्षीय खड्गबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की र २६ वर्षीय लोकबहादुर कार्कीलाई आजीवन कैद सजाय सुनाइएको हो ।

एक जना १७ वर्षीय नाबालिगको हकमा भने अदालतले २५ वर्ष सजायको दुई तिहाइ कैद हुनेगरी सजाय सुनाएको छ । यस्तै, उनीहरूलाई दुई दुई लाख क्षतिपूर्ति तिराउन समेत अदालतले आदेश दिएको छ । गत वर्ष भदौ २१ गते बिहान सवा ५ बजे मादी नगरपालिका १ खोलागाउँका ९० वर्षीय बौद्धबहादुर कार्कीकी श्रीमती ८४ वर्षीया पार्वता भन्ने पार्वतीसहित ६ जनाको हत्या भएको थियो ।
५५ वर्षीय छोरा तेजकुमार, उनकी ५४ वर्षीया श्रीमती कमला भन्ने मनमाया, नातिनी बुहारी ३२ वर्षीया रंजना, पनाती ८ वर्षीय भन्ने दिपेन कार्की र पनातिनी ५ वर्षीया गोमा कार्कीको हत्या भएको थियो । उनीहरूको टाउको तथा शरीरको विभिन्न भागमा दाउराका चिर्पट तथा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।
यस घटनाको अनुसन्धान गर्न प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी अरूणकुमार बिसी, संघीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी नायब उपरीक्षक रूगम कुँवर, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको टोली घटनास्थल पुगेको थियो । अनुसन्धानको क्रममा सुरूमा लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो ।
उनीमाथि सोधपुछ गर्दै जानेक्रममा र प्रमाणको आधारमा प्रहरीले अरूलाई पनि पक्राउ गरेको हो । प्रहरीले सुरूमा यस घटनामा लोकबहादुरलाई नै मुख्य प्रतिवादी भनेर सार्वजनिक गरेको थियो । घटनाबारे गाउँलेलाई खबर पनि उनैले गरेका थिए । लोकबहादुर कार्कीमाथि अनुसन्धान गर्दै जाँदा योजनावद्ध तरिकाले तेजबहादुर कार्कीलगायत परिवारको हत्या भएको खुलेको थियो ।
प्रहरीले सुरूमा लोकबहादुर एक्लैले बडाबा ५५ वर्षीय तेजबहादुर कार्कीसहित छ जनाको हत्या गरेको बताएको थियो । हत्याकाण्डको सामूहिक संलग्नताको पोल भने बुहारी रञ्जनाको मोबाइलबाट खुलेको थियो । कार्कीको घरमा अघिल्लो दिन राति नै हत्याको योजना बुनिएको थियो । राति ८ बजे खड्गबहादुरसहित हस्तबहादुर, लोकबहादुर र उनका भाइ बसेर योजना बनाएको अनुसन्धानबाट खुलेको छ,’ अनुसन्धानमा संलग्न संघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले भनेका थिए ।
भोलिपल्ट तेजबहादुर लोकबहादुरको घरमा खेताला बोलाउन जाँदा मौका छोपेर हत्या गर्ने योजना बनाइएको थियो । घरपरिवारका अन्य सदस्यले थाहा पाए उनीहरूको पनि हत्या गर्ने योजना बनाइएको दाहालले बताए । यसरी हत्या गर्दा अनुकूल भए तेजबहादुरको घरमा भएको धनमालसमेत लैजाने योजना उनीहरूको थियो भन्ने खुलेको छ,’ दाहालले भनेका थिए ।
तेजबहादुरको घरमा धनमाल सुरक्षित भेटिएको थियो । हत्यापछि संलग्नले ठूलो धनराशी तत्काल नभेटेका कारण लुट्न नभ्याएको प्रहरीको भनाइ थियो । प्रहरीले हत्याकाण्डमा अन्य व्यक्तिको संलग्नतामा मोबाइल, उनीहरूको साबिती बयान र हत्याका बखत लगाइएको लुगा कपडालाई आधार मानेको दाहालले बताए ।
भदौ २१ गते बिहान तेजबहादुरको पिप्लेस्थित खेतमा खड्गबहादुर, हस्तबहादुर, लोकबहादुर र उनका भाइ खेताला जाने पहिले नै तय भइसकेको थियो । हत्याको योजनाअनुसार खड्गबहादुर बिहान ५ बजे तेजबहादुरको घरमा पुगेका थिए । उनले त्यहाँ पुगेर तेजबहादुरलाई भने लोकबहादुर अल्छी छ घरमै गएर खेताला निश्चित गर्नू । त्यसपछि तेजबहादुर लोकबहादुरको घर हिँडेका थिए । हिँडेपछि उनलाई आक्रमण गर्ने पूर्वयोजना थियो ।
दाहालका अनुसार तेजबहादुर लोकबहादुरको घर जाँदै गरेको देखेपछि खड्गबहादुर र हस्तबहादुर उनको घर पछाडि चिर्पट बोकेर तयारी अबस्थामा बसेका थिए । तेजबहादुरले लोकबहादुरको घर पुगेर ‘अल्छी अझैसम्म उठेको छैनस् भन्दै कराए,’ दाहाल भन्छन्, ‘त्यसपछि लोकबहादुर उठे । उनका भाइ र बुवा रणबहादुर त्यतिबेला घरमै थिए ।’
यसअघि प्रहरीले तेजबहादुर खेताला बोलाउन आउँदा रणबहादुर र भाइ घाँस काट्न निस्केको बताएको थियो । तेजबहादुर फर्किएपछि लोकबहादुर दाउराको चिर्पट र अलैंची काट्ने चक्कु बोकेर पछि पछि हिँडेका थिए । घर पछाडिको गोगनको रूखनजिक पुगेपछि लोकबहादुरले टाउकोमा प्रहार गरेर लडाएका थिए । खड्गबहादुर र हस्तबहादुर दाउराको चिर्पट बोकेर त्यहाँ आइपुगिसकेका थिए ।
उनीहरूले तेजबहादुरमाथि चिर्पट प्रहार गरे । हस्तबहादुरले चक्कुले पेटमा प्रहार गरी डिलबाट लडाए । तेजबहादुरलाई बाटोमा घोप्टो पारेर फाले । प्रहरीका अनुसार घटना हुँदा तेजबहादुर कराएका थिए । लोकेले मार्यो, मलाई नमार’ भन्दै गरेको सुनेपछि उनकी श्रीमती कमला र बुहारी रञ्जना तेजबहादुरलाई उद्दार गर्न आएका थिए । लोकबहादुरले कमलालाई चिर्पटले प्रहार गरेका थिए । कमलाको घाँटीमा हस्तबहादुरले छुरा प्रहार गरेका थिए ।
‘बुहारी रञ्जनालाई भाइले ठेलेर खोल्सामा झारेका थिए र खड्गबहादुर, लोकबहादुर र हस्तबहादुरले मिलेर हत्या गरेका थिए,’ दाहाल भन्छन् । त्यसपछि रणबहादुर र लोकबहादुरका भाइले बुहारी रञ्जनाको शव कमलाको शव भएको ठाउँमा पुर्याएका थिए । घटनाको बेला नाबालक दिपेन र गोमा घर नजिक बाटोमा देखेपछि हस्तबहादुर लोकबहादुरले बाटो छेकेर चिर्पटले हिर्काएको दाहालले बताएका थिए ।
त्यसपछि पाँचै जना ८४ वर्षीया पार्वता कार्की भएठाउँ पुगेको पनि प्रहरीले बताएको थियो । घरभित्र पार्वता मकै नङ्ग्याइरहेकी थिइन् । उनलाई समातेर हस्तबहादुरले घर पछाडि गोठनजिकै लगेका थिए । त्यसपछि लोकबहादुरले उनको टाउको भित्तामा ठोक्काएर घाँटी बटारी हत्या गरेको प्रहरीले जनाएको थियो । यसअघि पार्वतालाई कुँडो पकाउन आगो फुक्दै गर्दा हत्या गरिएको प्रहरीले बताएको थियो ।
हत्यापछि सबै जना घटनामा प्रयोग गरेको चिर्पट र छुरा बोकेर लोकबहादुरको घरमा गएका थिए । लागेको रगत पखालेर छुरा बुइँगलमा लुकाएका थिए । चिर्पटहरू अँगेनामा डढाएका थिए । रगत लागेको कपडा लुकाएका थिए । खड्गबहादुर र उनका छोरा हस्तबहादुर घरतर्फ फर्किएका थिए,’ दाहालले भनेका थिए । रञ्जनाको मोबाइल लोकबहादुरका भाइले लिएर स्वीच अफ गरी घरमुनिको ओडारमा लगेर लुकाएको उनले बताएका थिए।
‘पुनः खड्गबहादुर र हस्तबहादुर लोकबहादुरको घरमा फर्किएर कसैले सोधेमा घटनाको बारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भनी सल्लाह गरेका थिए,’ दाहाल भनेका थिए, ‘यदि प्रहरी आएर पत्ता लगाएमा लोकबहादुरले मानसिक औषधी पनि खाने गरेका कारण सबै जिम्मा लिने भन्ने सल्लाह भएको खुलेको छ ।’ प्रहरीका अनुसार खड्गबहादुर नियमित रूपमा मदिरा सेवन गर्ने गर्थे । घरमा श्रीमती र परिवारका सदस्यहरूलाई कुटपिट गालीगलौज गर्ने गर्थे ।
यो थाहा पाएका तेजबहादुरले ‘तँ जँड्याहा किन यसो गर्छस्’ भनेर गाली गर्ने गर्थे । खड्गबहादुरले पनि ‘तँलाई के मतलब, तँलाई पनि मार्छु’ भन्दै झगडा गर्ने गरेका थिए । तेजबहादुर लोकबहादुरलाई ‘तँ पागल, अल्छी, केही काम गर्न सक्दैनस्’ भन्ने गर्थे । रणबहादुरलाई समेत गाली गर्ने गर्थे । ‘जहिले पनि हेप्ने र आफू सम्पन्न भएको फूर्ति दिने गरेकाले मनमा इख पालेको र खेताला बोलाएको दिन मौका छोपेर हत्या गरेको देखिन्छ,’ दाहालले भने ।
छ जनाको हत्या गरे पनि उनीहरूले तेजबहादुरका ९० वर्षीय बुवा बौद्धमान कार्कीलाई छोडेका थिए । बौद्धमानले राम्रो व्यवहार गर्ने गरेकाले उनलाई सकुशल छोडिएको पक्राउ परेकाहरूले प्रहरीले बताएका थिए । यो खबर सेतोपाटीमा छ ।


प्रतिक्रिया