काठमाडौा — नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने दाबी गरेका छन् । आज मङ्गलवार काठमाडौँ स्थित नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । गठबन्धनरूपी विमान आकाशमै रहेकोले सुरक्षित अवतरण नगरे दुर्घटनातर्फ जाने बताए ।
आउँदो मङ्सिरपछि मात्रै सम्भवतः गठबन्धनरूपी विमानले सुरक्षित अवतरण गर्ने उनको भनाइ छ । संविधानको रक्षा गर्नका लागि गठबन्धन सरकार बनेको र बीच बाटोमा पुगेर दलहरूले एकअर्काप्रति आरोप, प्रत्यारोप गर्न नहुने बताए। पालिका चुनावमा हामी पाँच दल एउटै जहाज चढ्यौँ । जहाज उडिसकेको छ । आकाशमा छ ।
तर ल्यान्डिङ भएको छैन । अब हामीले त्यो जहाजलाई सेफ ल्यान्डिङ कसरी गर्ने भनेर चिन्तन र चिन्ता गरिरहेको बेलामा त्यही जहाजभित्र बसेर साथीहरूले ङ्यारङ्यार ङुरङुर गर्न हुन्न भन्ने मेरो ठहर छ । जहाजलाई सेफ ल्यान्डिङ गर्नुपर्ने हाम्रो दायित्व छ । वा त हामीले जहाजबाट प्यारासुट जम्प गर्नुपर्छ । तर खुट्टा भाँचिन्छ कि भन्ने पनि हामीलाई त्रास छ ।’
उपसभापति गुरुङले गठबन्धनभित्र नै एक दलले अर्को दललाई आरोप लगाउँदा अपरिपक्व राजनीतिज्ञले देश सञ्चालन गरेको पुष्टि हुने दाबी गरे । सधैँ देश गरिब बनाएर काम गर्न नहुने भन्दै सरकार चलाउनेले देश र व्यवस्थालाई समृद्धिसँग जोड्ने अर्जुनदृष्टि राख्न आवश्यक रहेको बताए । उनले व्यवस्था परिवर्तन गरे पनि जनताको अवस्था परिवर्तन गर्न नसकेको बताए ।


प्रतिक्रिया