Breaking

आयल निगम घाटा चुलिएर थेग्नै नसक्ने अवस्थामा, इन्धन आपूर्ति प्रभावित हुन सक्ने चेतावनी


काठमाडौं — नेपाल आयल निगमले घाटा चुलिएर थेग्नै नसक्ने अवस्था बनेको भन्दै प्रधानमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको ध्यानकर्षण गराएको छ । सोमबार दुवै निकायमा पत्राचार गर्दै निगमले आर्थिक स्रोतको जोहो नभए निकट भविष्यमै इन्धन आपूर्ति प्रभावित हुन सक्ने चेतावनी दिएको छ । निगमका कार्यकारी उमेश प्रसाद थानीले लेखेको पत्रमा भनिएको छ ‘विषम परिस्थितिमा निगमलाई कुनै स्रोतबाट आवश्यक रकम उपलब्ध हुन सकेन, मूल्य समायोजन पनि हुन नसकेको हुँदा निकट भविष्यमा नै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या हुनसक्छ ।

घाटा धान्नै नसकिने अवस्थामा पुगेको भन्दै निगमले यसबाट बच्नका लागि स्वदेशमा इन्धन खपत कम गर्नुको विकल्प नभएको पनि पत्रमा उल्लेख गरेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म निगम ५५ अर्ब रुपैयाँ नोक्सानीमा जाने देखिएको भन्दै पत्रमा भारतलाई इन्धन खरिदको भुक्तानी गर्नुपर्ने रकम ३० अर्ब नाघेको पनि उल्लेख गरेको छ । निगमको वित्तीय अवस्था साह्रै बिग्रिएपछि प्रधानमन्त्री र वाणिज्य मन्त्रीलाई यसबारे ध्यानाकर्षण गराएको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताए । ‘सरकारले तत्काल नसोचे अवस्था भयावह हुनेवाला छ,’ थानीले भने ‘सरकारलाई भनेका छौं अब जनताले पनि समस्या बुझिदिनुपर्छ । इन्धन खपत कम गर्ने विभिन्न उपाय अवलम्बन गर्न पनि सरकारलाई आग्रह गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए ।