काठमाडौँ — नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा १५ बुँदे प्रस्ताव पेश भएको छ । सोमबारको बैठकमा केन्द्रीय समिति सदस्य तथा प्रदेश विशेष समन्वय समितिका अध्यक्ष ओम शर्माले पेश गरेको बैठकमा सार्वजनिक महत्वका विषयमा उठेका एजेण्डा र प्रश्नहरु’ शीर्षको प्रस्तावमा आगामी संघीय र प्रदेश निर्वाचनको सम्भावित परिणामले पार्टीको भविष्य निर्धारण गर्ने भएकाले पार्टीले वस्तुस्थितिको विश्लेषण गर्दै ऐतिहासिक निर्णय गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रस्तावमा शर्माले संसदमा थकित अनुहारलाई निषेध गर्दै युवा पुस्तालाई प्राथमिकता दिइनुपर्नेमा जोड दिएका छन् । संसदमा कार्यसम्पादन कमजोर भएका पुरानै र थकित अनुहार, भविष्यमा केही गर्न नसक्ने कमजोर व्यक्तिलाई रोजगारीका लागि मात्र संसद पठाउने गल्ती गर्नु हुँदैन उनको प्रस्तावमा भनिएको छ, यो प्रतिनिधिसभा र राष्ट्रियसभा तथा प्रदेशका तर्फ पनि लागू गर्नुपर्छ । औचित्य पुष्टि नभएसम्म ०६३ यता चार पटक संसद भएकालाई यसपटक उम्मेदवारी नबनाउने ऐतिहासिक निर्णय लिइनुपर्नेमा पनि प्रस्तावमा जोड दिइएको छ ।
यसो गर्दा युवा पुस्तालाई संसदमा प्रवेश गर्ने बाटो खुला हुने प्रस्तावमा भनिएको छ । श्रीमान–श्रीमतीलाई त कुनैपनि मूल्यमा संसद छिराउने दुस्साहस गर्न नहुने उनको भनाइ छ । एउटा निर्वाचन जित्ने र अर्कोको तयारीमा लाग्ने वा निर्वाचनदेखि निर्वाचनसम्मको गोलचक्करबाट बाहिर निस्कने र पार्टीलाई बलियो बनाएर जित सुनिश्चित गर्ने आधार तयार पार्ने हो भने पार्टीले ऐतिहासिक निर्णय लिनैपर्ने प्रस्तावमा उल्लेख छ । प्रस्तावमा पार्टीको लोकप्रिय मत बढाउने रणनीति तय गर्नुपर्ने र सशक्त चुनावी एजेन्डा तय गर्नुपर्नेमा जोड दिइएको छ ।


प्रतिक्रिया