Breaking

माओवादीको केन्द्रीय समिति बैठक बस्दै, को बन्लान् महासचिव ?


काठमाडौँ – माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा स्थानीय चुनावको समीक्षाका साथै केन्द्रीय कमिटीलाई पूर्णता दिने लगायतका एजेण्डामा छलफल गर्ने तयारी छ ।

यस्तै पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन, आगामी चुनावको तयारीलगायतका विविध विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

महाधिवेशन सकिएको लामो समय बितिसक्दा पनि माओवादी केन्द्रले महासचिवसहित पदाधिकारीको टुंगो लगाउन सकेको छैन । महासचिव चयनको किचलो सल्टेको छैन । अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा र नेता वर्षमान पुनबीच कसलाई रोज्ने भन्नेमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड द्विविधामा पर्दा माओवादी केन्द्रले अध्यक्षबाहेकका पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरो गठन गर्न सकेको छैन ।

विधानअनुसार माओवादीले एक अध्यक्ष, एक महासचिव, एक वरिष्ठ उपाध्यक्ष र ६ उपाध्यक्ष चयन गर्नुपर्नेछ । विधानमा दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्षको पनि व्यवस्था छ । १८ पुसमा सकिएको महाधिवेशनले अध्यक्षबाहेक अन्य पदाधिकारी चयन गरेकै छैन ।

माओवादी केन्द्रले केन्द्रीय समितिमा पनि ४७ जना मनोनयन गर्न बाँकी नै छ । माओवादीको विधानमा २ सय ९९ सयको १५ प्रतिशत अध्यक्षले मनोनयन गर्न सक्ने अधिकार छ । योसहित माओवादीको केन्द्रीय कमिटीको संख्या ३ सय ४४ सदस्यीय हुनेछ ।