देश

मट्टितेल छर्केर आगो लगाई श्रीमतीको हत्या, श्रीमान पक्राउ


काठमाडौँ — मोरङको रंगेली नगरपालिका-१ बिर्ताबजार बस्ने तिलका मल्लिकलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमतीमाथि आगो लगाएर हत्या गरेको आरोपमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। उनीमाथि ३१ वर्षीय श्रीमती बबिता मल्लिकको हत्या गरेको आरोप छ ।

प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार शुक्रबार राति १० बजे तिलका र बबिताबीच घरायसी विवाद भएको थियो। त्यसक्रममा तिलकाले बबितामाथि मट्टीतेल छर्केर आगो लगाएर भागेका थिए । खोजी गर्नेक्रममा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । आगो लागेर घाइते भएकी बबिताको उपचारको लागि कोशी अस्पताल विराटनगर लगिएको थियो ।

उनको शनिबार बिहान ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामाथि थप अनुसन्धान अघि बढाएको छ । श्रीमतीमाथि आगो लगाउँदा घर भित्रका लत्ता कपडा, भाडावर्तन अन्नपात गरी जम्मा दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।