Breaking

देशका विभिन्न स्थानमा वर्षा, बाढीपहिरोबाट बच्न २४ घण्टे चेतावनी


काठमाडौँ — देशका विभिन्न स्थानमा रातिदेखि वर्षा जारी छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (शनिबार बिहान ६:५३ बजे सोधिएको ) प्रदेश नं १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

‘अहिले काठमाडौँ, काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, नवलपुर, म्याग्दी, स्याङ्जा, दाङ, बैतडीलगायत खासगरी देशको पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ’, मौसमविद् सापकोटाले भने ।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

बुलेटिनअनुसार रती देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र अन्य भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

वरिष्ठ मौसमविद् सापकोटाका अनुसार अहिले वर्षा भइरहेको स्थानमा पानी पर्न कम हुँदै गए पनि मध्याह्नपछि पुनः वर्षा हुने सम्भावना छ ।

‘काठमाडौँ हकमा अहिले सुधार भइरहेको छ र अब एक दुई घण्टा पानी पर्न रोकिन सक्छ’, उनले भने, ‘तर मध्याह्नपछि र साँझ हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ ।’