काठमाडौँ — रोपाइँको सिजनमै मल नपाउँदा तराईका किसानलाई सकसमा परेका छन् । नेपालमा मल नपाएपछि सीमापारीबाट ल्याउँदा नेपाली सुरक्षाकर्मीले ल्याउन नदिएको किसानहरुको गुनासो छ । तराईका किसानहरुलाई अहिले धान रोपाइँको चटारो छ ।तर रोपाइँ गरिरहेका किसानहरुले रासायनिक मल भने पाउन सकेका छैनन्।
सिजनमै आएर रासायनिक मल नपाएपछि हुर्किसकेको भानको विउ सुक्ने चिन्ताले उनीहरूलाई सताएको छ।बेर्ना हुर्किएर रोप्ने अवस्थाको भए पनि मलको अभावमा किसानले रोपाइँ गर्न पाएका छैनन्। रोपिसकेको धान बालीको लागि अती आवश्यक रासायनिक मल आफ्नै देशमा किन्न नपाए पछि बाध्य भएर भारतीय बजारबाट ल्याउनु परेको छ ।एकदुई बोरा मल साइकलमा बोकेर ल्याउँदा समेत नेपाल–भारत सिमानाकामा खटिएका नेपाली सुरक्षाकर्मीले ल्याउन नदिएको किसानहरुले गुनासो गर्दै आएका छन् ।
रोपाइँ गर्ने तयारीमा रहेका किसानहरु धान रोप्दा चाहिने डीएपी मल जति कोशिश गर्दा पनि नपाएको गुनासो गरेका छन् । मल नहाली रोपाइँ गर्दा फसल राम्रो नहुने भएकोले समयमा रोपाइँ नगर्दा हुर्किसकेका बेर्नाहरु बिग्रिन थालेको उनीहरुले दुःखेसो पोखेका छन् ।मलको लागि सहकारीमा धाउन थालेको एक महिना नाघ्दासमेत मल नपाएको किसानले बताए ।
सर्लाहीमा झण्डै ४० देखि ४६ हजार हेक्टर जग्गामा धानबाली हुने गरेको छ। जिल्लामा मल आपुर्ति गर्ने जिम्मा कृषि सामाग्री संस्थान र साल्ट ट्रेडिङले लिएको छ।कृषि ज्ञान केन्द्र सर्लाहीका निमित्त प्रमुख एवं कृषि प्रसार अधिकृत कमलदेव प्रसाद कुशवाहाले रोपाइँ गर्ने सिजनमै आएर मलको अभाव हुने समस्या एकदुई पटकपटको मात्र नभइ यो हरेक वर्षको समस्या रहेको बताए । हाल वितरण भइरहेको मल अपर्याप्त रहेकोले गर्दा जिल्लामा मलको अभाव भएको कुशवाहाले बताए ।
देशकै अन्न भण्डार मानिएको तराईमा मल खाधको अभावमा हजारौं बिगहा खेतियोग्य जमिन बाँझो बन्दै गएको छ।यहाँ किसानहरु खेतिपाती गर्न छाडेर अन्य बैकल्पिक रोजगार तर्फ लाग्न थालेका छन् ।जसले गर्दा हाम्रो देशमा अन्नको कमि हुँदै गएको छ। देशमा खाद्यान्ह आयात कम गर्न र पलायन भइसकेका र पलायन हुने तयारीमा रहेका किसानलाई कृषिकार्य तर्फ फर्काउन सरकारले किसानको समस्या समाधान गर्न ठोस कदम चाल्न आवश्यक छ ।


प्रतिक्रिया