काठमाडौँ — प्रत्येक पटक सरकारको नेतृत्वमा आउँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई विगतको छबि सुधार्न पनि सच्चिनै पर्ने आवश्यकता पर्छ । तर प्रत्येक पटकका सरकार सञ्चालनमा देउवा असफल छन् । यद्यपी सरकार हुँदै पार्टी सञ्चालनमा समेत देउवा असफल भइसक्दा नेताहरु लाचार बनेका छन् ।
नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले चलाएको सरकारबाट असफलताको गन्ध आइरहेका बेला पार्टीसमेत लथालिङग बनेको छ ।
सरकार र पार्टी सञ्चालनबारे समीक्षा गर्न पार्टीभित्रको प्रतिपक्ष समूहले लगालग दुईदिनसम्म छलफल चलाएपनि देउवाका अघि ठोस कार्यनीति बनाएको छैन । बिहिबारको छलफलमार्फत देउवा विधानसम्मत् नचलेको भन्दै निष्कर्ष निकालेको शेखर पक्षले शुक्रबार पनि उस्तै निर्णय गर्दै रचनात्मक प्रतिवाद गर्ने निर्णय ग¥यो । जुन देउवा सुध्रिनका लागि पर्याप्त छैन ।
सुरुका दिनमा सभापतिलाई विधानअनुसार हिँडाउन सफल देखिएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच सहकार्य कसिलो बनेको थियो ।तर सभापति देउवाले उनीहरुलाई सुन्न छाडेका छन् । सभापतिबाटै विधि मिचिँदा पनि टूलीटुली हेर्ने बाहेक उनीहरुले सुधारको संकेतसम्म दिन सकिरहेका छैनन ।मंसिर अन्तिम साता सम्पन्न १४ औं महाधिवेशन लगत्तै नीति महाधिवेशन गर्ने भनिएपनि ६ महिना वितेको छ । तर नीति महाधिवेशनबारे छलफलसमेत भएको छैन ।
पार्टी भातृ र सहायक संगठनहरु लथालिङग अवस्थामा छन् । विभाग गठनबारे देउवाको कुनै चासो छैन । सहमहामन्त्रीको काम र भूमिका अन्यालमै छ । महाधिवेशनपछि मनोनित गर्नुपर्ने कोषाध्यक्ष पद ५ महिनादेखि रिक्त छ । विनोद चौधरी जस्ता अर्बपति नेताको प्रत्यक्ष दबाब र महात्वाकांक्षाले कोषाध्यक्षको विषय टुंगिएको छैन ।
बरु देउवाले रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासहित प्रकाशमान सिंह जस्ता नेतालाई भागबन्डा मिलाएर शेखर समूह जस्तो बलियो प्रतिपक्ष कित्तालाई ओझेलमा पारेका छन् ।धनराज गुरुङ, मिनेन्द्र रिजाल र गुरु घिमिरे जस्ताखरो विरोधी नेताहरुसमेत संसदीय निर्वाचनको मुखमा विरोध गर्दा टिकट नपाइँने डरमा लाचार बनेका छन् ।
देउवाको ध्यान मात्र गठबन्धन र राष्ट्रिय राजनीतिमा केन्द्रीत छ । राष्ट्रिय समस्याले घेरिए पनि देउवा प्रधानमन्त्रीमै टिकिरहने र निर्वाचनपछि पनि प्रधानमन्त्री नै बन्ने सुरक्षित बाटोमा जुनसुकै सौदाबाजी गर्न तयार छन् । एसपीपी र एमसीसी जस्ता विवादित मुद्धाको पक्षपोषणलेदेउवालाई कलंक बनाउन खोजिरहेको छ । यी र यस्ता प्रकरणको वेवास्ता गर्दै देउवा भने सत्ता जोगाउने र निर्वाचनपछि पनि सत्ताको सुनिश्चित गर्ने काममा व्यस्त देखिएका छन् ।


प्रतिक्रिया