राजनीति

जसपा फुट्न नदिन केही नेताहरु सक्रिय


काठमाडौँ — जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र कार्यकारी अध्यक्ष उपेन्द्र यादव पक्षबीचको विवादले पार्टी विवादको तहमा पुगेपछि फुट्न नदिन केही नेताहरुले प्रयास थालेका छन् । उनीहरुले विभाजन रोक्नका लागि ठोस प्रस्तावसहित दुवै नेताहरुलाई भेट्ने तयारी गरेका छन् । कार्यकारिणी सदस्यसमेत रहेका सांसद राजकिशोर यादवले विभाजन हुन नहुने पक्षमा रहेका नेताहरुले ठोस प्रस्तावसहित दुवै नेतालाई भेट्ने तयारी भएको बताएका छन् ।

लाइक माइन्डेड साथीहरु बसेर पार्टी विभाजन रोक्न सकिन्छ कि भन्ने विषयमा छलफल सुरु गरेका छौं यादवले भने, अहिले के कस्तो मूर्त रूप लिइसकेको छैन । तर हामी पार्टी विभाजन नहोस भन्ने पक्षमा छौं । यादवले ठोस प्रस्तावका लागि छलफलमा संलग्न नेताहरुको नाम बताउन चाहेनन् । अहिले नाम नभनौं । अहिले राष्ट्रिय राजनीतिक र पार्टीको भूमिका कस्तो छ त्यस विषयमा ठोस केही गर्नेछौं, उनले भने ।

भट्टराई र यादवबीच बुधबार भएको कुराकानीमा मिलेर जान नसक्ने अवस्थामा छुट्टिने खालको कुराकानी भएको थियो । यादव पक्षले अब भट्टराई पार्टीबाट अलग हुने कुरा गरिरहेको छ । तर भट्टराई पक्षले भने यादव पक्षले अतिरञ्जित गरेको दाबी गरिरहेको छ । अध्यक्ष भट्टराईले आफूले पार्टीभित्रका बहसमा मुद्दा भन्दै आफ्ना असन्तुष्टीहरु बिहीबार राती सार्वजनिक गरेका छन् । पार्टी भित्रको बहसलाई व्यक्तित्वको टक्करको रूपमा प्रस्तुत गरिएको उनले उल्लेख गरेका छन् ।

पार्टीभित्रको बहसलाई फगत व्यक्तित्वको टक्करका रूपमा प्रस्तुत गर्नु ठीक हैन जसपाभित्रको वहसका मुद्दा यी हुन् क्षेत्रीय कि राष्ट्रिय पार्टी सनातनी सत्तामुखी राजनीति कि रूपान्तरणकारी राजनीति एकल नेतृत्व कि समावेसी सामूहिक नेतृत्व विधिसंगत कि स्वेच्छाचारी कार्यशैली बहस नै फुट हैन भट्टराईले बिहीबार ट्विट गर्दै भनेका छन् ।