राजनीति

प्रदेश १ की एमाले सांसद खातुनले दिईन पदबाट राजीनामा


काठमाडौँ — सरकारी सहीछाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएकी नेकपा एमाले सांसद गुलेफुन खातुनले पदबाट राजीनामा दिएकी छन् । नेकपा एमालेबाट प्रदेश १ की समानुपातिक सांसद खातुनले राजीनामा दिएकी हुन् । उनले दिएको राजीनामा पत्र बिहीबार प्रदेशसभा बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले वाचन गरेर सुनाए । राजीनामा पत्र बाचन पछि उनले राजीनामा स्वीकृत भएको जानकारी गराए । उनलेसमानुपातिक तर्फको एउटा पद रिक्त रहेको जानकारी दिए ।

मोरङबाट प्रतिनिधित्व गर्ने खातुनलाई सरकारी सहीछाप किर्ते मुद्दामा जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरले दोषी ठहर गरेको थियो । उच्च अदालत विराटनगरको फैसलामा चित्त नबुझेपछि उनले सर्वोच्चमा निवेदन दिएकी थिइन् । निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश शुस्मालता माथेमा र नहकुल सुवेदीको इजलासले गत जेठ २५ गते निस्सा नदिने अन्तिम आदेश गरेको थियो ।

मोहीको जग्गा दाबी गर्न कागजात जुटाउने क्रममा उनीमाथि तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकरीछापा किर्ते गरेको आरोप लागेको थियो । किर्ते मुद्दामा जिल्ला अदालत मोरङले २०७४ वैशाख ३१ गते एक वर्ष कैद सजाय सुनाएको थियो । सो मुद्दामा खातुनसहित उनका श्रीमान शेख शिलवर मिया, तत्कालीन गाबिसका कर्मचारी विजय कामत र दिपचन्द मण्डललाई एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना सुनाएको थियो ।

किर्ते मुद्दामा दोषी देखिएका तत्कालीन गाविसका कर्मचारी कामत र मण्डललाई अड्डाका कर्मचारी भएका कारण थप दुई वर्ष सजायको फैसला भएको थियो । जिल्लाको फैसला विरुद्ध उनी २०७४ भदौमा उच्च अदालत विराटनगर गएकी थिइन् । उच्च अदालत विराटनगरले २०७६ पुस ६ गते उनलाई एक वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उच्च अदालत विराटनगरले उनका श्रीमान शेख सिलबरलाई सफाइ दिएको थियो । तीन जनाको हकमा भने सजाय हुने जिल्लाको आदेश सदर गर्दै जनही १४ हजार ५ सय ८३ जरिवाना हुने फैसला सुनाएको थियो ।