काठमाडौँ — वामपन्थी दलहरुबीच एकता र सहकार्यको चर्चा चलिरहेका बेला पूर्वमाओवादीबीचको एकतामा सम्भावना खोज्न थालिएको छ । तर प्रचण्डले आफ्नै नेतृत्वमाएकता खोजिरहेका बेला अन्यघटकहरुबीच सम्भव नभएको बताउँछन् । माओवादी पृष्ठभूमिका टुक्राटाक्रीमध्ये पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रबाहेक अरु पाँचपार्टीअहिले अस्तित्वमा छन् ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, विप्लवबाटै फुटेर बनेको धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र गोपाल किराँती नेतृत्वको नेकपा माओवादी मोर्चा अहिले सक्रिय छन् ।डा. बाबुराम भट्टराईले माओवाद मात्रै होइन, माक्र्सवाद नै त्यागेर मधेशवादी दलसँग एकता गर्दै जनता समाजवादी पार्टीको नाममा अस्तित्व बचाइरहेका छन् ।
तर जसपाभित्र मधेशवादी नेतासँग टिउनिङ नमिलेपछि उनी यतिवेला ‘भात खाउकि थाल खाउको’ अवस्थामा छन् ।नेकपा विभाजनपछि एमालेमै घुलित भएकाले रामबहादुर थापा बादलसहितका नेताहरुको अर्काे अस्तित्व छैन । ११ वर्षअघिवैद्यबाट सुरु भएको माओवादी धाराको विभाजन श्रृंखला गत बैशाख २१ मा विप्लवबाट छुट्टीएपछि धर्मेन्द्र बास्तोलासम्म जारी छ ।
मुलतः प्रचण्डकै असफल नेतृत्वका कारण चिराचिरा बनेका माओवादी घटकबीच पुनः एकताको खोजी गर्न थालिएको छ । र यसको सबैभन्दा बढ्दा जिम्मेवारी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उठाइरहेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार विप्लव नेतृत्वको नेकपा त्यागेर आएका नेता कार्यकर्तालाई स्वागत गर्दै पूर्वमाओवादीबीचको एकता आफ्नो नेतृत्वमा मात्रै सम्भव भएको बताएका हुन् ।
जबकि प्रचण्डकै नेतृत्वमा एकता सम्भव नभएको भन्दै वैद्यदेखि विप्लवसम्म भड्कीरहेका छन् ।तर शान्ति प्रक्रिया हुँदै संसदीय राजनीतिमा प्रवेश गरेको छोटो समयमै पतनको दिशामा अघि बढेका प्रचण्डका लागि शक्ति निर्माण सबैभन्दा पहिलो सर्त हो । जुन आगामी संसदीय निर्वाचनअघि नै सम्भव भए प्रचण्डका लागि ढुंगा खोज्दा देउता हुनेछ । तर पूर्वमाओवादीहरु प्रचण्डको प्रस्तावमा सहमत छैनन् । कम्युनिष्टहरुबीचको एकता आवश्यक भएको तर प्रचण्डले भनेजस्तो पूर्वमाओवादीहरुबीचको एकतामा तुक नभएको उनीहरु बताउँछन् ।
चुनावमा जानुअघि नै पूर्वमाओवादीहरुबीच एकताबद्ध भएर शक्तिशाली पार्टी बनाउने प्रयास प्रचण्डको भए पनि ठोस आधार छैन । त्यति मात्र होइन, विभिन्न टुक्रामा विभाजित पूर्वमाओवादीका नेताहरुको वैचारिक मतभिन्नताकै कारण पनि एकता सहज देखिँदैन । किनकि जुट्नेभन्दा फुट्ने काम धेरै गरेका उनीहरुबीच राजनीतिक कार्यदिशाका विषयमा समेत अन्योलता छ ।
पूर्वमाओवादी एक हुने वा तालमेल हुने विषयमा औपचारिक छलफल रबहस भएको छैन। पछिल्लो केहीसमययता वैद्य, विप्लव र बाबुरामसम्मका नेताहरुसँग प्रचण्डले अनौपचारिक छलफल गरेका छन् ।तर एकताको विषय भ्रम पैदाका लागि मात्रै भएकोभन्दै प्रचण्डको विरोध हुने गरेको छ ।सैदान्तिक विचलन र संसदीय सत्ता स्वार्थमा चुलुम्म डुबेको आरोप प्रचण्डमाथि छ । जसले पनि पूर्वमाओवादीबीच अहिले नै एकताको सम्भावनालाई नजिक देखाएको छैन ।


प्रतिक्रिया