Breaking

प्रचण्डको प्रधानमन्त्री हुने चाहनामाथि माधव बाधक,संकटमा गठबन्धनको गठजोड, देउवा-प्रचण्डविरुद्ध समाजवादी


काठमाडौँ — सरकार सञ्चालनदेखि निर्वाचनसम्मै सहकार्य गरिरहेका पाँच दलमध्ये चार दलको सहभागिता सरकारमा छ । तर यी पार्टीहरु एकअर्काेमाथि नै आशंका देखाइरहेका छन् । जसको पछिल्लो पटाक्षेप समाजवादीका मन्त्री फेरबदलमा गरिएको ढीलासुस्तीले प्रस्ट्याएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लेप्रधानमन्त्री हुने रहर सार्वजनिक गरेको दुई दिनपछि नै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको नेतृत्व काँग्रेस सभापति शेरबहादुर देउवाले नै गर्नेठोकुवा गरे ।

मतलब प्रचण्डको प्रधानमन्त्री हुने चाहनामाथि माधव बाधक बन्न खोजिरहेका छन्, जसरी माधवको मन्त्री फेर्ने चाहनामाथि प्रचण्ड बाधक बनेकै कारण समाजवादीका मन्त्री फेरबदलको विषय निकै पेचिलो बनेको थियो ।सिट संख्यामा माधवभन्दा प्रचण्ड बलिया भएकै कारण देउवाले पनि आग्रह सहजै स्वीकार्दै आएका छन् । यता देउवा–प्रचण्डका आ–आफ्ना तजबिजले माधव नेपालको पार्टी विभाजनको मानसिकतामा मात्रै छैन, गठबन्धनकै विषयमा फरक मत छन् । एकअर्काेको बलिया सहयात्री भन्दै गठबन्धनमार्फत सहकार्य गरेका दलहरुबीच नै चरम अविश्वास देखिएको छ ।

नेकपा खारेज हुँदै एमाले विभाजनपछि फरक पार्टी बनाउन सघाएका प्रचण्डले त्यसयता माधव नेपालको पार्टीलाई आफ्नो भातृ संगठन जस्तो चलाउँदै आएका छन् । प्रचण्डले जे चाहने, माधव त्यही इशारामा चल्ने परिपाटीकै कारण नेकपा एकीकृत समाजवादीको हैसियतमाथि नै प्रश्न उठेको छ । गठबन्धनमा गरिएको अपेक्षाका कारण स्थानीय तहको निर्वाचनमा सन्तोषजनक मत नआएको भन्दै नेताहरु रुष्ट छन् । अहिले फेरि मन्त्री फेरबदलकै विषयलाई लामो समय तामेलीमा राखिदिएपछि गठबन्धन त्याग्नेसम्मको चेतावनी समाजवादीको थियो ।

गठबन्धनको सरकार भएपनि मन्त्री छनोटको अधिकार स्वतः स्वंयम् पार्टीलाई रहन्छ । तर कसलाई, कतिबेला मन्त्रीमा नियुक्तगर्ने प्रधानमन्त्रीमै निहित अधिकार हो । अनेक दबाबका बाबजुद समाजवादीका मन्त्री फेरबदल भएका छन् । तर यो घटनाले गठबन्धनका दलहरुबीचको अविश्वासलाई पुनः एकपटक छरपष्ट बनाएको छ ।

माधव नेपालदेखि झलनाथ खनाल रसमाजवादीका अन्य नेताहरुले समेतदेउवा–प्रचण्डको आलोचना गर्दै आफुमाथि अपमानजनक तरिकाले व्यवहार भएको बताउँदै आएका छन् । आगामी संसदीय निर्वाचनसम्मै गठबन्धन कायम रहे यही नियती दोहोरिनेमा उनीहरु अझैं आशंका गरिरहेका छन् । तर आफुलाई अपमान गरिएको दाबी गरिरहने समाजवादी अझै गठबन्धनको निरन्तरता खोजिरहेको विषय थपले उब्जाएको छ ।