काठमाडौँ — ट्राफिक प्रहरीको दादागिरी भएको छ । पैदल हिँडेका चिकित्सकमाथि आक्रमण गरेका छन् । असार १३ मा राति आरोग्य स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा कुलबहादुर घिसिङ कुटिएका हुन् । सर्लाही बरहथवा नगरपालिका वडा नम्बर–१ घर भएका चिकित्सकलाई ललितपुर महानगरपालिका–१३ कुसुन्तीमा ट्राफिक प्रहरी जवान राजेन्द्र थापाले कुटेका हुन् ।
पैदल हिँडिरहेका चिकित्सक आक्रमण गर्ने प्रहरीलाई कारबाही गर्नुपर्ने माग सहित पीडितका दाइले जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएका छन् । राति पौने ९ बजेतिर चेकिङमा रहेका जवानले ‘किन ढेसिएर हिँडेको भनेर डाक्टरलाई आक्रमण गरेका हुन् ।
कुटपिटमा संलग्न जवानलाई स्पष्टीकरण सोधिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिद्धिविक्रम शाहले बताए । शाहले भने–‘विवाद पछि कुटपिट गरेको देखिन्छ, कानुन बमोजिम प्रक्रिया अघि बढाउँछौँ ।’ पीडित परिवारले घाउ परीक्षण गर्न पनि प्रहरीमा निवेदन दिएका छन् । चिकित्सकको अल्का अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया