काठमाडौँ — लामो समय भयो, नेकपा विभाजनपछि हराएका बामदेव गौतम एमाले विभाजनपछि त झै गुमनाम छन् । कुनै बेला नेकपा एकताको अभियान चलाएका उनी फेरि त्यही अभियानमा देखिन थालेका छन् । एमालेका केपी शर्मा ओली र माधवकुमार नेपाल दुई ध्रुवतिर बाँडिएपछि एमालेमा कुनै बेला एकजना प्रभावशालीनिर्णायक मानिएका पात्र छन्, जो चुपचाप र गुमनाम छन् ।
ओली–माधव दुईतिर भाग लाग्दा उनी बीचको बार्गेनिङमा थिए । कहिले माधवतिरको समर्थन, कहिले ओलीतिरको आर्कषण । ओली–माधवभन्दा उमेरलेअलि पाका बामदेव गौतमको आगामी राजनीतिक यात्राका लागि निकै सकसपूर्ण घडी छ ।नेकपा विभाजनताका नै एकताको पक्षमा उभिएका बामदेव अहिले पुनः नेकपा ब्युताउने तयारीमा रहेको भन्दै सार्वजनिक भएका छन् ।
बामदेवका लागि आजभोलि पार्टी सम्बोधनका लागि पदसमेत छैन ।एमाले विभाजनका बेला ओली च्यासल र माधव निर्वाचन आयोगतिर हानिँदा बामदेव घरमै बसे । तथापी स्थानीय तहको निर्वाचनमा माधव नेपालको पार्टीलाई जिताउने गरि नैतिक समर्थन देखाए । अहिले उनी नेकपा विभाजनको हिसाव नेताहरुसँग खोजिरहेका छन् । केही दिन अघि ओलीकै अहंकारले नेकपा विभाजन भएको दाबी गरेका बामदेवले शनिबार प्रचण्डकै कारण पार्टी फुटेको आरोप लगाएका छन् ।तर नेताहरु बामदेवकै कारण नेकपा विभाजन भएको आरोप लगाइरहेका छन् ।
नेकपा फुटको संघर्षमा रहेका बेला तत्कालिन अध्यक्षद्वय ओली र प्रचण्डलाई मिलाउने भन्दै बामदेवले कहिले प्रधानमन्त्री त कहिले पार्टी अध्यक्षको दाउ छोपेका थिए । एमाले विभाजनको डिलमै रहेका बेला पनि‘पार्टी एकताको जिम्मा मलाई दिनुस्, ओली र माधवलाई मान्य हुनेगरी एकता गर्छु भनेका उनले आफैलाई नेतृत्वको देख्न थालेपछि समस्या झन बल्झिएको थियो ।
अहिले उनै गौतमले ओली–माधव मात्रै होइन, प्रचण्डसहितको नेकपा पुनरोदयको अभियान चलाउने बताएका छन् । र यसका लागि एकल पार्टी अध्यक्ष र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानेप्रस्ताव उनले गरेका छन् ।यस विकल्पमा एमाले, नेकपा एस र नेकपा माओवादीको धारणा सम्भवत गौतमले बुझ्ने र पार्टी एकताको नयाँ सिरा अपनाई आफ्नो आवश्यकता र भूमिका भावी राजनीतिमा देखाउने बामदेव गौतमको सुत्र हुन सक्दछ ।


प्रतिक्रिया