Breaking

गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति


काठमाडौँ — सत्ता गठबन्धनको बैठकमा पेट्रोलिय पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको छ ।

बैठकमा आजै मन्त्रिपरिषद्को बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कम गर्ने र आयल निगमलाई मुल्य घटाउन निर्देशन दिने सहमति भएको हो ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको गठबन्धनको बैठकमा गठबन्धनका संयोजक एंव कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आम नागरिकको चुल्हो नै नबल्ने अवस्था आउन लागेको भन्दै सरकारले बजारमा हस्तक्षेप गर्नुपर्ने, बजारको अनुगमन कडाइका साथ गर्नुपर्ने र पेट्रोलिय पदार्थको मूल्य पनि घटाउन पर्ने प्रस्ताव गरेका थिए ।

पौडलको प्रस्ताव अनुसार तत्काल मन्त्रिपरिषद्को बैठक बसेर पेट्रोलियम पदार्थमा लागेको कर कम गर्ने र तेलको मूल्य घटाउन आयल निगमलाई निर्देशन दिने निर्णय भएको हो । सरकारले बजार अनुगमनलाई पनि कडाइ गर्ने सहमति गठबन्धनको बैठकमा भएको कांग्रेस वरिष्ठ नेता पौडेलले बताए ।

बैठक जनताको भान्सा कसरी सस्तो बनाउने विषयमा छलफल भएको र सरकारले बजारमा हस्तक्षेप वा अनुगमन गरेर भए पनि मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने सुझाव दिएको उनले बताए ।