काठमाडौँ — सत्ता गठबन्धनमा आवद्ध नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्रीको नाम दिएको दुई सातावित्न थाल्यो । तर प्रधानमन्त्री टसको मस छैनन् । मुलतः आन्तरिक द्वन्द्वमै फसेका दलहरुले गठबन्धनको भविष्यमाथि नै संकट पारेका छन् । एमाले अध्यक्ष केपी ओलीदेखि काँग्रेस सभापति शेरबहादुर देउवासम्मलाई प्रधानमन्त्री बनाएका माओवादी अध्यक्ष प्रचण्डले अन्ततः आफै प्रधानमन्त्री हुने रहर सार्वजनिक गरे ।पटकपटक अरुलाई प्रधानमन्त्री बनाएर रहर दबाइरहेका प्रचण्डले गठबन्धनभित्र कचिङगल मच्चिरहेका बेला शुक्रबार फ्याट्ट कुरा फुस्काएका हुन् ।
आफैले सत्तामा पु¥याएका ओलीलाई आफ्नै बलमा निकालेर देउवालाई कुर्सी थमाएका प्रचण्ड ‘किङमेकरबाट किङ’ बन्न खोजिरहेका छन् । तर उनको आफ्नै पार्टी आन्तरिक संकटबाट गुज्रिरहेको छ । संसदीय निर्वाचन मुखमै रहेका बेला पार्टीभित्रको एक पंक्ति एमालेसँग वाम एकताको सपना देखिरहेको छ । ६ महिना पहिले सम्पन्न महाधिवेशनबाट आफैलाई टिका लगाएर फेरि नेतृत्वमा दोहोरिए पनि पार्टी पदाधिकारीविहिन छ । अहिले समाजवादीमा मन्त्री फेरबदल भए माओवादीभित्र पनि असर पर्ने आँकलन गरेका उनले देउवालाई उक्साएर हेरफेरमाथि नै कैची चलाइरहेका छन् । किनकि मन्त्री फेरबदलकै विषयले समाजवादी चरम संकट र विभाजनमा फसेको छ ।
एमालेबाटविभाजित बनेको ११ महिना पुग्न नपाउँदै माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीभित्र मन्त्री फेरबदलको हिसाबकिताब नमिलेपछि विभाजनकै अवस्था छ । नौं महिनाअघि मन्त्री बनेकाहरु पद खोसिए पार्टी छोड्न धम्की दिइरहेका छन् । अहिले त्यही पदका लागि सिफारिसमा परेकाहरु मन्त्री हुन नपाए पार्टी छोड्ने घुर्कि लगाइरहेका छन् । जन्मिनै नपाई समाजवादी चरम आन्तरिक द्वन्द्वमा फसेको छ ।तर सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली काँग्रेसभित्रै देउवाको आनीबानी र गठबन्धनमाथिको हस्तक्षेपलेचरम असन्तुष्टि छ ।
महाधिवेशनपछि पार्टी एकढीक्का रहेको र रुपान्तरण भएको दाबी गरिएपनि अहिलेसम्म कुनै विभाग गठन भएका छैनन् । युवा पुस्ताका महामन्त्रीद्वय देउवाकै पेलानले उठ्नै नसक्ने गरि थिचिएका छन् ।जनता समाजवादी पार्टीमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच सम्बन्ध विच्छेदको रस्साकस्सी चलिरहेको छ । यसैपनि अस्तित्वहिन जस्तै बनेर गठबन्धनमै रहेको जनमोर्चा खोज्नुपर्ने अवस्थामा छ । समग्रमा देशको लोकतन्त्र र संविधान रक्षाका लागि भन्दै बनेको गठबन्धन शिर्ष नेताको हानथाप र पार्टीभित्रकै कचिङगलले दूर्गन्धित बनेको छ ।
सत्ता घटक दलहरुभित्र देखिएका पराकम्पलेभयंकर भुँइचालोको संकेत गरेका छन् । एकातर्फ संसदीय निर्वाचनकै मुखमा दलहरु छन्, अर्काेतर्फ वाम एकताको चर्चा र सम्भावनाले राजनीतिक वृत्त तात्तिएको छ । एमाले अध्यक्ष ओलीले गठबन्धनमाथि गडबड गर्न असार १७ को डेडलाइन दिएका थिए । दलहरुका आन्तरिक तनावले त्यसलाई थप मलजल गरेका छन् । फलतः पाँच दलीय गठबन्धन अझै सग्लो रहने वा बीचमै जुइना फुस्कीने ?दुई सम्भावना प्रबल बनेका छन् ।


प्रतिक्रिया