काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जान लागेका एक सय १३ जना हजयात्रीलाई बिदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री खाणले शुक्रबार बिहान हजयात्रीलाई बिदाइ गरेको खाणको सचिवालयले जानकारी दिएको छ । यस वर्ष हजका लागि नेपाललाई छुट्याइएको पाँच सय ५५ जनाको कोटामध्ये शुक्रबार बिहान अन्तिम टोली हजयात्रामा निस्केको थियो ।
हजयात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाणले सरकारले सबै धर्मलाई सम्मान गर्ने बताएका थिए । उनले हज गर्न जाने परम्पराले विश्वभरमा नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध पनि विस्तार हुने बताएका थिए । हजयात्रीलाई बिदाइ गर्न नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, कांग्रेस केन्द्रीय सदस्य अब्दुल सतारलगायत विमानस्थल पुगेका थिए ।
नेपालबाट हजयात्रामा जाने टोलीलाई साउदीमा जेब्दास्थित महावाणिज्य दूतावासले समन्वयको काम गर्छ । मुस्लिम समुदायको पवित्र तीर्थस्थलको रूपमा रहेको मक्कामदिनामा विश्वभरका मुस्लिम समुदाय हज गर्नका लागि जाने गर्दछन् ।


प्रतिक्रिया