Breaking

नामावलीमा नाम दर्ता गराउन जानेलाई सास्ती (भिडियोसहित)


काठमाडौँ – असार १ गतेबाट पुनः सुरु भएको मतदाता नामावली संकलन र अद्यावधिक कार्य जारी छ । विभिन्न पेशा व्यवसायका कारण अस्थायी रुपमा बसोबास गरिरहेकाहरुले सोहि जिल्लाको निर्वाचन कार्यालयबाट नै नामावली दर्ता गर्न पाउने व्यवस्था समेत गरिएको छ । तर निर्वाचन कार्यलयले आवश्यकता अनुसार जनशक्ति व्यवस्था नगर्दा सर्वसाधरणले सहजता भन्दा सास्ती बढी खेप्नु परेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामवली संकलनका साथै अद्यावधिक गर्ने काम जारी राखेको छ । सबै निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय एवं ७३ वटै इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलनको काम भईरहेको छ । स्थानीय निर्वाचन भर्खरै सकिएको र संघीय निर्वाचन निकट रहेकोले पनि नामावली दर्ताको लागी सर्वसाधारणको आकर्षण बढ्दो छ ।

अर्कोतर्फ विभिन्न पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न पाउने व्यवस्थाका कारण बढी जनसंख्या भएका क्षेत्रमा सर्वसाधरणको घुँइचो छ । काठमाडौँ जिल्ला निर्वाचन कार्यलयमा देखिएको यो भीँडले यहि सन्देश दिएको छ । टन्टलापुर घाममा आफ्नो काम नै माया मारेर सर्वसाधरण घण्टौ घण्टा लाइन बसेर नामावली दर्ता गर्न बाध्य छन् ।

जिल्ला निर्वाचन कार्यलयले काठमाडौँका मतदाताका लागि एउटा र उपत्यका बाहिराका लागि दुई वटा संकलन केन्द्र राखेर काम गरिरहेको छ । सीमित जनशक्तिबाट नामावली संकलन भइरहेकोले कामको गति निकै सुस्त भइरहेको छ । यी लाईनमा बसेको सर्वसाधरण गृह जिल्ला नगई काठमाडौँमै बसेर नामावली दर्ता गर्न पाएकोमा खुशी त छन । तर नामवली दर्ता प्रक्रिया एकदमै ढिला भएकोप्रति गुनासो पनि छ ।

भर्खरै सम्पन्न भएको स्थानीय तह निर्वाचन लक्षित गरी राजनीतिक दलहरुको दवावमा स्थानीय तहमा समेत मतदाता नामवली संकलन अभियान नै सञ्चालन गरेको निर्वाचन आयोगले यो पटक भने निर्वाचन कार्यालय,जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मात्र मतदाता नामावली संकलन गरिने जनाएको छ । निर्वाचन आयोगका प्रवक्त शालिग्राम शर्मा पौडेलले काठमाडौँमा मात्र घुँइचो बढी भएको,अन्य क्षेत्रमा यत्तिको भीँड नभएको बताएका छन ।

यसतर्फ आयोगको ध्यानकर्षण भएको र आयोग मतदाता नामवली संकलन कार्यलाई पनि अनलाइन बनाउने गृहकार्यमा जुटेको प्रवक्ता शालिग्राम शर्माको भनाइ छ ।

मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता हुँदैन । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम संकलन गर्न योग्यता पुगेका सबै नागरिकलाई आफ्नो नाम दर्ता गराउन अनुरोध गरेको छ ।