Breaking

भक्तपुरमा टिपरसँग मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु


काठमाडौँ – भक्तपुरको सूर्यविनायक नगरपालिका ८ आदर्शचोक नजिकै टिपरसँग ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

सूर्यविनायकबाट जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपर आज बिहान सवा २ बजे आपसमा ठोक्किंदा दुई जना युवाको मृत्यु भएको हो ।

मृतकमध्ये भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने निश्चल चौगुठीको मात्र सनाखत भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ । अर्का एकजनाको भने सनाखत हुन बाँकी छ ।

दुर्घटनामा घाइते भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।