समाचार

भारतीय मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु


काठमाडौँ — कञ्चनपुरको पुनर्बास नगरपालिकामा भारतीय मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । पुनर्बास–६ टाउनका दुई वर्षीय मनिष राना मगरको मृत्यु भएको हो ।

तीव्र गतिको युपी ३१ के ८१३० नम्बरको भारतीय मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए ।

गम्भीर घाइते बालकको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सडक छेउमा खेलिरहेका बालकलाई ठक्कर दिएर चालक फरार भएका थिए । उनी नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका मल्लले जानकारी दिए ।