Breaking

एक लटमै एक अर्ब लुट्ने चौधरी ग्रुपको कालोधन्दा


काठमाडौँ — चौधरी ग्रुपले राजाका पालामा राजासँगै नजिक भएर फाइदा लिए । अहिले देउवाका पालामा देउवाकै चाकडी गरेर राज्यमाथि चरम अत्याचार गरिरहेका छन् ।गत जेठ २५ गते चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले पेट्रोलियम आयात घटाउने विकल्प भन्दै निटा–भि नाम गरेको विद्युत गाडी बजारमा ल्यायो । एकैपटक १५ सय गाडी भित्र्याएको सीजीले एउटै गाडीबाट झण्डै ८ लाख बढी असूलेर आफ्नै देशका जनतालाई ठग्ने काम गरेको छ ।

यसरी पहिलो लटमै कम्पनीले १ अर्ब ३० करोड ५७ लाख ९ हजार कुम्याउँदै छ । र यसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भरपुर प्रयोग गरिएको छ । चौधरी ग्रुपले नेपालमा ल्याएको निटा–भिको मूल्य सबै खर्च कटाएर२९ लाख ३१ हजार ९ सय ४७ रुपैयाँ हुन्छ । तर त्यही गाडी ३७ लाख ९९ सय हजार अर्थात एक हजार कम ३८ लाखमा बेचिरहेको छ । अत्यधिक नाफा राखेर गाडीको मूल्य सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा ‘बाइकट निटा–भी’ को ट्रेण्ड नै चलेको छ ।

किनकि यसमा सरकारले कानुननै बदलेर सीजीलाई साथ दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका आर्थिक सल्लाहकार तथा मधेशी कोटाबाट काँग्रेसको केन्द्रीय सदस्यबाट बनेका विनोद चौधरी नै यसका कार्यकारी अध्यक्षहुन् । देउवासँग नजिक रहेको फाइदा उठाएर कर हेरफेरदेखि सरकारमाथि प्रत्यक्ष दबाब कायम बनाएपछि चौधरीमाथि निरन्तर प्रश्न उठिरहेको छ ।

कालोबजारी सम्बन्धि सजाय ऐनले २० प्रतिशतभन्दा बढी नाफा लिएर मालवस्तु बेच्न नपाइने व्यवस्था गरेको छ । यस्तो कसुर गर्नेलाई नाफाखोरी गरेको कसुरमा १ वर्षसम्म कैद वा २ लाख ५० हजार जरिवान वा दुवै सजाय हुने व्यवस्था छ । तर एउटै गाडीमा ८ लाख बढी असूल्ने सीजी मोटर्सलाई कसले कारबाही गर्ने ?बरु सरकार सञ्चालकदेखि अर्थमन्त्रीसम्मलाई यसमा यसबाट लाभान्वित भएको आशंका भइरहेका छन् ।

सरकारले विद्युत सवारी आयातका लागि व्यापक छुटको योजना ल्याएको थियो । जसको उद्देश्य पेट्रोलियम पदार्थको आयातमा कमि ल्याई विद्युतीय सवारीलाई प्रोहत्सान गर्नु हो । तर उद्देश्य एकातिर र काम अर्काेतिर हुँदा चौधरी ग्रुपजस्ता व्यापारिक घरानाबाहेक अरुलाई यसले लाभ मिलेको छैन । अनेक कष्ट गर्दै गाडी किन्ने तहमा पुगेका उपभोक्तालाई समेत चौधरी ग्रुपको असुली धन्दाले पछि हट्न बाध्य बनाएको छ ।