समाचार

अलकत्रा बोकेको ट्याङ्करमा आगलागी


काठमाडौँ – जिल्लाको महेन्द्रनगर बजारमा सडक कालोपत्रे गर्ने अलकत्रा बोकेको ट्याङ्करमा आगलागी हुँदा पूर्णरूपमा जलेको छ ।

गएराति भीमदत्त नगरपालिका-१८ पार्क मोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्रे गर्नका लागि अलकत्रा बोकेको ट्याङ्करमा एक्कासी आगलागी हुँदा ट्याङ्कर जलेर पूर्णरूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए ।

ना४ख ७८८८ नंको उक्त ट्याङ्कर निर्माणस्थलमा चालक दिनेश चौधरीले चलाइरहँदा एक्कासी आगलागी भएको निर्माण कम्पनी जेडआइइसी लामा जेभीका प्रतिनिधि दीपक डिसीले जानकारी दिए ।

उक्त घटनामा ट्याङ्करको पछाडि रहेका सहचालक निर्बल चौधरी घाइते भएको र उनको महाकाली प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

समयमै ट्याङ्करमा लागेको आगो दमकलको सहायताले निभाउँदा ठूलो क्षति हुनबाट जोगिएको छ । नजिकैका घरहरू आगलागी हुनबाट जोगिएका छन् ।