देश

जसपाको बैठक अझै अनिश्चित


काठमाडौँ — जनता समाजवादी पार्टी नेपालको बैठक अझै अनिश्चित देखिएको छ । जसपा संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराई पक्षका नेताहरूले पार्टीमा देखिएको विवाद समाधानका लागि बैठकको माग राख्दै आएका छन् । स्थानीय चुनाव सकिएपछि पार्टीमा चुनावी समीक्षा पनि भएको छैन । जिल्ला–जिल्लाबाट चुनावी समीक्षाको प्रतिवेदन आएपछि मात्र बैठक बस्ने जसपाको तयारी छ । जसपाका कार्यालय सचिवसमेत रहेका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले भने, अहिलेसम्म चुनाव नै सकिएको छैन, जिल्लाहरूमा जिल्ला समन्वय समितिको चुनाव चलिरहेको छ ।

त्यसको परिणामसहित समीक्षा प्रतिवेदन पठाउन जिल्ला कमिटीलाई भनिएको उनले बताए । चुनावको समीक्षात्मक प्रतिवेदन आउने बित्तिकै पार्टीको बैठक बस्ने उनले बताए । यसअघि जेठ ३० गतेसम्म समीक्षा प्रतिवेदन पठाउन जिल्ला समितिहरूलाई सर्कुलर गरिएको थियो । तोकिएको समयमा सबै ठाउँबाट प्रतिवेदन आइपुगेको छैन । कतिपय ठाउँमा जिल्ला समन्वय समितिको चुनाव हुन बाँकी रहेको त्यहाँ चुनाव सकिएपछि मात्र प्रतिवेदन आउने अधिकारीको भनाइ छ ।