Breaking

एन्फामा किन दोहोरिन चाहन्छन् कर्माछिरिङ ? (भिडियोसहित)


काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्मा छिरिङ शेर्पा फेरि दोहोरिन चाहिरहेका छन् ।

शेर्पाले पहिलो कार्यकालमा गर्न नसकेका कामलाई पूरा गर्ने र नेपाली फुटबललाई माथिल्लो स्तरमा लैजाने योजनासहित उम्मेदवारी दिएको बताएका छन् । नेपाली फुटबलको सबैभन्दा ठूलो निकाय एन्फाको असार ६ मा केन्द्रीय चुनाव हुँदै छ ।

चुनाव आउन दुई दिन बाँकी रहँदा अध्यक्षका प्रत्यासीहरु व्यस्त छन् । सबै चुनावी तयारीका लागि मतदाताहरु सँगको छलफलमा लागिपरेका छन् । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) अहिले चुनावको पूर्वसन्ध्यामा छ । चार वर्ष एन्फाको नेतृत्व गर्नका लागि असार ६ गते हुने केन्द्रीय निर्वाचनका उम्मेदवारका प्रत्यासीहरुलाई अहिले भ्याईनभ्याई छ ।

चुनवामा आफ्नो प्यानल नै लिएर होमिएका अध्यक्षका दुई प्रत्यासी र एकल चुनावी मैदानमा होमिएका अर्का अध्यक्षका प्रत्यासी अहिले मतदातासँगको भेटघाटमा व्यस्त छन् । दुई दिन पछि हुने चुनावका लागि सल्लाहा सुझाव लिने क्रम निरन्तर जारी छ । चुनाव अन्तिम चरणमा आईपुग्दा उनीहरु सब आफैले बाजी दाबी गर्दै आएका छन् । पछिल्लो चार वर्ष एन्फाको नेतृत्व सम्हालिसकेका कर्मा छिरिङ शेर्पा यस पटकको निर्वाचनमा पनि फेरि होमिएका छन् ।

उनी आफ्नो प्यानलै बनाएर निर्वाचनको तयारीमा लागेका छन् । विगतका दिनमा धेरै काम गर्नुका साथै, कोभिडका कारण हुन नसकेको बाँकी कामहरु र नेपाली फुटबललाई अझै व्यवस्थित र व्यवसायिक बनाउने उनको प्रमुख एजेण्डा रहेको छ । दोहोर्याएर अध्यक्ष पदका लागि उम्मेदवरी दिएका उनी आफूले जित्नेमा पनि ढुक्क जस्तै देखिन्छन् । विगतमा गरेको कामलाई मूल्यांकन गर्दै मतदाताले आफूलाई भोट खसाल्नेमा उनी विश्वस्त छन् ।

अघिल्लो चुनावमा शेर्पासँग एउटै प्यानलबाट होमिएका पंकज नेम्बाङ यसपटकको निर्वाचनमा भने अध्यक्ष पदका लागि शेर्पाको प्रतिद्वन्द्वी बनेका छन् । चेन्ज एन्फाको नार लिएर चुनाव जितेपछि उनीहरुको सहकार्य दुई महिन पनि टिक्न सकेन । नेतृत्व परिवर्तन भए पनि कार्यशैली भने उस्तै रहेको भन्दै उनीहरु दुई ध्रुवमा फाटिए । त्यसैविरुद्ध क्लब र जिल्लाका तमाम मतदाताको गुनासालाई प्रतिनिधित्व गर्दै उनले अध्यक्षमा उम्मेदवारी दिए ।

आफू कार्यकारी पदमा नरहदा दिएको सुझाव ग्रहण नगर्ने जस्ता कार्यले चार वर्ष खेर गएको उनले उल्लेख गरे । त्यस्तै अर्का अध्यक्षका प्रत्यासी हुन् फेन्ड्स क्लबका अध्यक्ष राजीव पौडेल । सुरु देखि नै सुशासनको कुरा गर्दै आएको उनी फुटबललाई नै सर्वोपरि राखेर विधान अनुसार चल्नु पर्नेमा जोड दिन्छन् । जुन हालको नेतृत्वबाट कार्यान्वयन नभएको उनको अनुभव छ । यो अहिले हुने चुनाव पनि विधान मिचेर हुन लागेको उनको बुझाई छ ।

कार्यपालिकाको चुनावसँगै न्यायापालिकाको चुनाव पनि अहिले सँगै हुनुपर्नेमा त्यो हुन सकेको छैन । विधानलाई पालना नगर्ने हो भने अरु जसले जिते पनि अवैधानिक काम भइरहनेमा उनी चिन्तित देखिन्छन् । यी तीनै उम्मेदावारको नीतिगत एजेण्डा भने केही फरक छैन छैन, विवाद यति मात्र हो कि को पदमा आउने । सबैले सुशासनको मात्रै कुरा गरिरहँदा यो प्रतिवद्धता चुनाव अघि मात्रै सीमित नहोस् ।

मुखले मात्र सुशासनको नारा लगाएर एन्फाले गति पक्कै लिदैन । त्यसलाई कार्यन्वयन गर्दै नेपाली फुटबलको अभिभावक संघ एाफालाई विवाद रहित बनाउन आवश्यक छ ।