Breaking

भुटानी शरणार्थी नेता डा. भम्पा राईको निधन


काठमाडौँ — झापामा बस्दै आएका भुटानी शरणाथी नेता डा. भम्पा राईको निधन भएको छ ।

विगत केही दिनदेखि गम्भीर बिरामी रहेका राईको आज (आइतबार) बिहान ७५ वर्षको उमेरमा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

राई विगत २९ वर्षदेखि झापाको दमकमा बस्दै आएका थिए । झापामा बसेर उनले भुटानी शरणार्थीको स्वदेश फिर्ति अभियानको नेतृत्व गर्दै आएका थिए । दुई वर्ष अघि मात्रै पत्नीको मृत्यु भएपछि उनी एक्लै थिए ।

राईकी भाञ्जी रौरी राईका अनुसार पाँच दिन अघि मात्रै उनको दमकस्थित लाइफलाइन अस्पतालमा हर्नियाको शल्यक्रिया गरिएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई शनिबार दिउँसो विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो । शनिबार साँझदेखि उनको मुटुको चाल कम भएको थियो ।

राईको पार्थिव शरीरको आजै किरात संस्कारअनुसार दमकस्थित रतुवामाई जंगलमा अत्येष्टि गर्ने तयारी छ ।

भुटानी राजाका निजी डाक्टर रहेका राई सन् १९९१ मा भुटानबाट नेपाली भाषीलाई लखेट्दा उनी आफ्नै इच्छाले नेपाल आएका थिए । ३० वर्षअघि शरणार्थी हैसियतमा झापा आउँदा राईले श्रीमतीसँगै बुबाआमालाई पनि साथै ल्याएका थिए । आमा विष्णुमायाको ०५४ र बुबा आइतराजको ०६४ सालमा निधन भएको थियो । नि:सन्तान राईका लागि कुनै बेला एक लाखभन्दा बढी भुटानी शरणार्थीको गास, बास र आवासको व्यवस्थापनका लागि नेपाल सरकार तथा दातृ निकायको सहयोगका लागि पहल गरेका थिए ।