Breaking

आईजीपीको रिटमा आज सुनुवाइ हुँदै


काठमाडौँ — आईजीपी बढुवाविरुद्धको रिटमा आज सुनुवाइ हुँदै छ ।

सरकारले धिरज प्रताप सिंहलाई वैशाख १८ गते आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा दायर गरेको रिटमा जेठ ३० गतेबाट अन्तिम सुनुवाइ सुरु भएको हो ।

त्यो दिन बहस नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा छ । कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुनेछ ।

बहस गर्ने अधिवक्ता धेरै हुँदा आज पनि फैसला हुने संभावना कम छ । यसअघि ३० गते तीन डीआईजीको तर्फबाट भने बहस सकिएको छ । यो रिट पनि लगाउमा राखिएकाले सँगै फैसला हुनेछ ।

सरकारले आफूभन्दा जुनियरलाई आईजीपी बनाएको भन्दै एआईजी पोखरेल सर्वोच्च पुगेका हुन् । सँगै भर्ना भए पनि पोखरेल सिंहभन्दा १७ महिना पहिले एआईजी भएका थिए ।

सिंहलाई आईजीपी स्वीकार्न नसक्ने भन्दै अहिले बिदा अस्वीकृत भए पनि कार्यालयमा हाजिर भएका छैनन् । २४ गते नै उनको बिदा सकिएको हो । वैशाख १९ देखि बिदामा थिए ।

बिदा माग गरे पनि सिंहले नदिएर हाजिर हुन निर्देशन दिएपछि पोखरेलले बिदा मागेको प्रमाण पनि मिसिलमा संलग्न गराएका छन् ।