काठमाडौँ — नुवाकोटमा एक जना पुरूषको हत्या भएको छ । बेलकोटगढी नगरपालिका वडा नम्बर ८ स्थित एक घरमा ५६ वर्षीय एकबहादुर तामाङ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए । ककनी गाउँपालिका वडा नम्बर ८ बस्ने तामाङ आफ्नो ससुरालीमा मृत फेला परेका हुन् ।
गत बिहीबार बिहान करिब ६ बजे उनको शव फेला परेको हो । प्रहरीले उनको हत्या आरोपमा चार जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा प्रहरीले मृतककी ३५ वर्षीया श्रीमती ज्ञानमाया, ६७ वर्षीय ससुरा चन्द्रबहादुर भन्ने ज्ञानबहादुर, ३४ वर्षीय दुखिराम र १४ वर्षीय बालकलाई पक्राउ गरेको छ ।
प्रहरी नायब उपरीक्षक खड्काका अनुसार घटना बुधबार मध्यराति भएको थियो । ससुरालीमा श्रीमती लिन आएका एकबहादुरमाथि कुटपिट गरी हत्या गरिएको हो । ससुरालीमा श्रीमती लिन आएका रहेछन् । श्रीमती माइतीमै बस्ने गर्थिन् । श्रीमान बेलाबेलामा श्रीमती लिन आउँथे,’ प्रहरी नायब उपरीक्षक खड्काले भने, ‘त्यो दिन पनि श्रीमती लिन आउँछु भनेर आएका थिए ।
तर श्रीमती नमानेपछि विवाद भएको रहेछ । त्यसैक्रममा घटना भयो ।’ ज्ञानमाया त्यहाँ ८(१० वर्षदेखि माइतीमै बस्दै आएकी थिइन् । स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको थियो । त्यसक्रममा उनीहरूले एकबहादुरको हात(खुट्टा बाँधेर दाउराको चिर्पटले कुटपिट गरी हत्या गरेको खुलेको हो ।


प्रतिक्रिया