Breaking

धादिङमा मलामी सवार गाडी दुर्घटना हुँदा २६ जना घाइते, ५ को अवस्था गम्भीर


काठमाडौँ — धादिङमा घाटबाट घर फर्किंदै गरेका मलामी सवार गाडी दुर्घटना हुँदा २६ जना घाइते भएको छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।

सदरमुकाम धादिङबेसीबाट मलामी लिएर धादिङकै मैदी जाँदै गरेको बा ४ ख १२२९ नम्बरको स्वराज गाडी गएराति सडकमा पल्टिएर दुर्घटना भएको हो ।

राति ११ बजे धादिङको नीलकण्ठ नगरपालिका ८ मैदी भज्याङमा सडकमै गाडी पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ५ जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरी थप उपचारको लागि राति नै ट्रमा सेन्टर, काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।

बाँकी घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ। केही घाइते उपचार पछि ठिक भएर घर फर्किएका छन् ।दुर्घटनापछि चालकलाई प्रहरीले पक्राउ गरेको छ । तीव्र गतिको कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।