समाचार

माछा मार्न गएका किशोरको खोलामा डुबेर मृत्यु


काठमाडौँ — तनहुँको व्यास नगरपालिका–५ स्थित साँगे खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ । तनहुँकै म्याग्दे गाउँपालिका–७ का १८ वर्षीय रुपेश बिकको शुक्रबार खोलामा डुबेर मृत्यु भएको हो ।

माछा मार्ने क्रममा खोलामा डुब्दा बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।

बिकसँगै माछा मार्न गएका १७ वर्षीय विशाल उचैको भने सामान्य अवस्थामा प्रहरी र स्थानीयवासीले जीवितै उद्धार गरेका छन् । उनको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।