Breaking

मिटरब्याजले सुकुम्बासी बनेपछि आन्दोलन गर्दै पीडित, १ लाख ऋणको १५ लाख तिर्दा पनि छोडेनन् साहुले


काठमाडौँ — वित्तिय प्रणालीमा पैसा अभाव भएर वैंकहरुले ऋण दिन नसक्ने अवस्थाको फाईदा यतिवेला मिटर व्याजीहरुले लिईरहेका छन । जसमा गृहप्रशासनकै कर्मचारीका श्रीमतीहरु सक्रिय भएको देखिएपछि सरकारले समेत चासो देखाएको छ । मिटर ब्याजमा ऋण दिएर जग्गा कब्जा गरेका साहूप्रति कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितले काठमाडौंमा आन्दोलन शुरु गरेका छन् । नवलपरासीका जगदीश बानियाँ र सुनिल बानियाँले स्थानीयहरुलाई मिटर ब्याजमा २ लाख ऋण दिएबापत १५ लाख रुपैयाँसम्म लिएको भन्दै पीडितहरुले माईतीघरमा कारबाहीको माग गर्दै आन्दोलन शुरु गरेका हुन् ।

साहू जगदिशका दाजुभाईसँग विदेश जानको लागि डेढ लाख रुपैयाँ ऋण लिएर पनि ६ वर्ष विदेश बसेर कमाएको १२ लाख रुपैयाँ दिँदा समेत अझै ऋण चुक्ता नभएको भन्दै पैसा माग्ने गरेको पीडित राज कुमारको भनाई छ । भएको जग्गा जमिनसमेत बेचेर पैसा तिरेको र अब तिर्न नसक्ने अवस्थामा पुगेकाले न्यायको लागि काठमाडौंमा आउनु परेको उनको भनाई छ । उनीसंगै आन्दोलनमा आएका जयप्रकाश कुर्मीको पनि समस्या उस्तै छ ।

छोरालाई विदेश पठाउनको लागि पैसा आवश्यक भएकाले सुनिल बानियाँसँग १ लाख रुपैयाँ ऋण लिएका कुर्मीले बानियाँलाई ५ लाख ५ हजार रुपैयाँ दिइसके तर अझै पनि बाँनियाले उनीसंग ८ लाख मागी रहेका छन । सुरुमा १ लाख पैसा दिएर २ लाखको तमसुक बनाउन बाध्य बनेका कुर्मीले जग्गा बचेर भएपनि पैसा दिन दबाब दिएको तर आफूसँग ४ कठ्ठा १५ धुर मात्रै जग्गा रहेको बताए । यो त प्रतिनिधि घटनामात्र हो । सोझासिधालाई ऋण लगानी गरेर उठिवास नै लगाउने मिटरव्याजीहरुको विगिविगी पछिल्लो समय बढ्दै गएको छ ।

वैक तथा वित्तिय संस्थाहरुमा तरलताको अभाव र यस्ता संस्थासंगको पहुँचको नहुदाँ उनीहरु मिटरव्याजीको फन्दामा पर्ने गरेका छन । आफूले लिएको ऋणको कयौँ गुणाबढि पैसा भुक्तानी गरेपनि पिडितहरुले पैसा चुक्ता भएको तमसुक पाउने गरेका छैनन् । मिटर ब्याजमा ऋण दिएर अत्यार गरेको विषय संसद समेत बहसको विषय बनेको छ । गृह मन्त्रालयले समेत मिटर ब्याजमा रकम उपलब्ध गराएको पाइए जानकारी गराउन विज्ञप्ती नै जारी गरेको थियो ।

तर यतिका चासोका वीच पनि मिटरव्याजीको धन्दा कम भएको छैन । यसको कारण गृह मन्त्रालयका कर्मचारीका पत्नीहरु नै मिटर ब्याज असुलीमा संलग्न रहनु भएको सांसद प्रेम सुवालको आरोप छ । यसअघि सप्तरीमा विपन्नको उठीबास लगाएका भनिएका मिटर ब्याजी रामदेव तेलीको विषयले समेत संसदमा स्थान पाएको थियो । लगत्तै प्रधानमन्त्रीले उनलाई पक्राउ गर्न निर्देशन नै दिएका थिए । तर अहिले पनि हजुरबुबाले लिएको ऋण नाती पुस्तासम्मले तिर्दा नपुगेर साहुले जग्गा समेत कब्जागर्दा भूमिहिन हुनेको संख्यामा बृद्धि आइरहेको छ ।