Breaking

संसदमा बाढी पहिरोको समस्यादेखि स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी सम्झौता सम्म


काठमाडौं — प्रतिनिधि सभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले विभिन्न विषय उठाएका छन् । सांसदहरूले वर्षाको समयमा बाढी पहिरोको समस्यादेखि स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी सम्झौता र लाल आयोगको प्रतिवेदन सार्वजनिकसम्मको मुद्धालाई उठाएका छन् । सांसद अत्तरकलम मुसलमानले बिहीबारको बैठकमा प्रतिपक्ष सांसदहरूले बोलेको एक घण्टामै एसपीपी माग गर्दै लेखेको पत्र सार्वजनिक भएको भन्दै प्रतिपक्ष नेकपा एमालेको नैतिकतामाथि प्रश्न उठाए ।

सांसद अमृता थापाले एमाले सांसद तथा पूर्व रक्षामन्त्री ईश्वर पोखरेलले बिहीबार संसद्मा बोलेको विषय रेकर्डबाट हटाउन माग गरिन् । “केपी ओली नेतृत्वको सरकार हुँदा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पत्राचार गर्नु भएको पत्र छ । अनि अमेरिकाले स्वीकृत दिँदा रक्षामन्त्री भएको मान्छेले चुनौती दिनु के हो उहाँको कुरा रेकर्डबाट हटाउनु पर्छ, उनले भनिन् । यता, एमाले सांसद खगराज अधिकारीले एसपीपीको पत्र सुशील कोइराला प्रधानमन्त्री हुँदा पठाइएको भन्दै आफूहरू छानबिन गर्न तयार भएको बताए ।

नैतिकताको पाठ सिकाउनेहरूलाई चुनौती दिन चाहान्छु, त्यतिबेला सुशील कोइरालाले लेखेको पत्र ल्याउन चुनौती दिन्छु, उनले भने । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद उमाशंकर अरगरियाले मधेस र थरुहट आन्दोलनसँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । मधेसको पार्टी, मधेसको मसिया, मधेसमा बलियो संगठन छ भन्ने पार्टी सरकारमा छ । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आवाज उठाएका छौँ । किन प्रतिवेदन सार्वजनिक नगरेको । सार्वजनिक गर्न जोडदार माग गर्दछु, उनले भने । सांसद अमनलाल मोदीले विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउने भन्दै ३५० घरपरिवार मुआव्जा नपाएर आर्थिक संकटबाट गुज्रनु परेको बताए ।