काठमाडौँ — ताप्लेजुङको सिरिजंगा गाउँपालिका ६ मा पहिरोमा परी २ जनाको मृत्यु भएको छ । बिहीबार बेलुका सिरिजंगा गाउँपालिका–६ खेवाङमा गएको पहिरोमा परी एकाघरका सासु र बुहारीको मृत्यु भएकाृ हो । पहिरोमा परेर छोरा गम्भीर घाइते भएका छन् ।

यसै वडाका वडाध्यक्ष बुद्ध दाहालका अनुसार सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको मृत्यु भएको हो । छोरा विष्णु अधिकारी गम्भीर घाइते भएका छन् । घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर बोलाइएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलले जनाकारी दिए । घाइतेलाई करिब एक घण्टाको दुरीमा रहेको राजु भट्टराईको घरमा राखिएको वडाध्यक्ष दाहाल बताउँछन् ।

‘हेलिकोप्टर बाहेक उपचारमा लाने सम्भावना छैन,’ दाहालले भने, ‘गाडीका सबै बाटोहरु पहिरोले बिगारेको छ । बोकेर लानका लागि पनि बाटो छैन ।’ घाइतेको छाती फुलेको र अलिअलि मात्रै बोल्न सक्ने उनले बताए । हात खुट्टा चलाउन सक्ने अवस्था छैन । पहिरोका कारण वडाभरिका ३० घर परिवार विस्थापित भएको वडाध्यक्ष दाहाल बताउँछन् ।


प्रतिक्रिया