समाचार

यौन दुर्व्यवहारको आरोपी चलचित्र पत्रकार संघका महासचिव बलामीले दिए राजीनामा


काठमाडौँ — रंग पत्रकारमाथि यौन दुर्व्यवहारको आरोप लागेका चलचित्र पत्रकार संघका महासचिव समीर बलामीले पदबाट राजीनामा दिएका छन् ।

बलामीले आफूमाथि लागेको आरोपमा अनुसन्धानका लागि सहज होस् भनेर राजीनामा दिएको बताएका छन् । बलामीले आफूमाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहज भन्दै राजीनामा दिएको र उनको राजीनामा स्वीकृत गरेका संघका अध्यक्ष दिनेश सिटौलाले जानकारी दिए ।

बलामीको राजीनामा दिएपछि बसेको संघको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले उनको राजीनामा स्वीकृत गरेको हो । बलामीलाई एक रंग पत्रकारले ६ वर्षअघि संघको चुनावका क्रममा होटलमा लगेर यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् ।

पीडित पत्रकारले संघले केहि समय अघि पुरस्कार दिने घोषणा गरेपछि उक्त पुरस्कार नलिने घोषणा सहित बलामीले गरेको दुर्व्यवहारका बारेमा आवाज उठाएकी थिइन । उनलाई दिने निर्णय गरिएको पुरस्कार छनोट समितिमा पीडक भनिएका बलामी पनि सदस्य रहेकाले उक्त पुरस्कार नलिने उनले बताएकी थिइन ।